४ भदौ ०७४, काठमाडौं । त्रिविका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुइँको नदिई एक मेडिकल कलेजलाई सम्बन्धन दिएको खुलासा भएको छ ।
प्रधानमन्त्री देउवालाई सुइँको नदिई हालै मात्र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिएको तथ्य बाहिर आएको हो ।
उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने गरी चिकित्सा शिक्षा विधेयक पास गर्नु पर्ने माग गर्दै डा. गोविन्द केसी आमरण अनसनमा रहेका बेला त्रिविले सो कलेजलाई सम्बन्धन दिएको हो ।
प्रधानमन्त्री र शिक्षामन्त्रीलाई सुइँको दिइएन
साउन ९ गतेदेखि डा. गोविन्द केसी आमरण अनसनमा बसेका थिए । तर, केसीले अनसन थालेको तेस्रो दिन नै त्रिविले अदालतको आदेशलाई देखाउँदै नेसनललाई अस्थायी सम्बन्धन दिए पनि यसलाई त्रिवि र कलेज सञ्चालक दुबैले गोप्य राखे ।
यो बीचमा डा. केसीको माग सम्बोधनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस नेता गगन थापाले त्रिवि पदाधिकारीसँग पटक पटक सम्वाद गरे । त्रिवि सिनेटको बैठक बस्यो, जसमा प्रधानमन्त्री देउवा र उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठ सहभागी भए । यो बैठकमा पनि त्रिवि उपकुलपति तीर्थ खनियाँसहितका पदाधिकारीले नेसनललाई अस्थायी सम्बन्धन दिएको सुइको समेत दिएनन् ।
जब डा. केसीले अनसन स्थगित गरे, नेसनलले सम्बन्धन पाएको सार्वजनिक गरे । नेसनलका सञ्चालक जैनउद्दिन अन्सारीले सम्बन्धन पाएको सुनाएका थिए ।
चिकित्सा शिक्षाको क्षेत्रमा षड्यन्त्र र अनैतिक गठबन्धन
डा. गोविन्द केसीको आमरण अनसन जारिरहेकै अवस्थामा अदालतको निर्णयको आड लिई त्रिविले मेडिकल कलेजलाई खुसुक्क सम्बन्धन दिपछि कांग्रेस नेता गगन थापा भन्छन्, ‘चिकित्सा शिक्षाको क्षेत्रमा कति धेरै षड्यन्त्र र अनैतिक गठबन्धन रहेछ !’
प्रधानमन्त्रीलाई भन्न खोजेको, सुन्नुभएन
सम्बन्धन दिएको कुरा प्रधानमन्त्रीलाई किन नभनेको भन्ने प्रश्नमा खनियाँले ‘भन्न खोजेको, सुन्नुभएन भन्ने तर्क गरेको एक अधिकारीले बताएका छन् ।
तर, उपकुलपति खनियाँले भने सर्वोच्चको आदेश अनुसार अस्थायी सम्बन्धन दिएको बताए ।
सिनेट बैठकका क्रममा आफूले नेसनललाई रोक्न सक्ने अवस्था छैन भनेर संकेत गरेको भन्दै उनले भने, ‘प्रधानमन्त्री र शिक्षामन्त्री सिनेटमा आउँदा संकेत गरेका हौं । हाम्रो भाषामा हामी रोक्न सक्दैनौं, अगाडि बढिसक्यो भनेका छौं ।’
अब रोक्ने बाटो, कलेज अहिले पनि अपार्टमेन्टमा छ :
आईओएमको फ्याकल्टी बोर्डको बैठक राखेर पूर्वाधार नभएकाले नेसनललाई रोक्न सकिने अधिकारीहरु बताउँछन् । नेसनल मेडिकल कलेज अहिले पनि अपार्टमेन्टमा राखिएको छ, जुन मेडिकल कलेजको मापदण्डमा पर्दैन ।
त्रिविले अहिले नेसनल मेडिकल कलेजलाई अहिले अस्थायी सम्बन्धन मात्र दिएको हो । तर, अझै पनि उसले कक्षा सञ्चालन गर्ने अवस्था छैन ।
अब नेसलन मेडिकल कलेजलाई शिक्षा मन्त्रालयले एलओआईको चिठी दिनुपर्छ । मन्त्रालयबाट मेडिकल आउन्सिल हुँदै आईओएममा गएर सिट निर्धारण गर्नुपर्छ । सबै सर्बे सकिएपछि मात्र कक्षा सञ्चालनको अनुमति पाउँछ ।