थप ११ सय २० जना कोरोना पुष्टि, संक्रमितको कूल संख्या ४१ हजार ६४९

१७ भदौ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ११ सय २० जना कोरोना संक्रमित पुष्टि भएको जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ११ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् । योसँगै नेपालमा संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ ।

हाल नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमित संख्या १८ हजार १०८ रहेको उनले बताए ।

उनले हालसम्म निको हुने कोरोना संक्रमित संख्या २३ हजार २९० पुगेको साथै क्वारेन्टाइनमा ६ हजार ७६६ जना रहेको बताए ।

यसैगरी गएको चौबीस घण्टामा थप १२ जना कोरोना संक्रमितको निधन भएको प्रवक्ता गौतमले बताए । यो सँगै कोभिड–१९ बाट निधन हुनेको कूल संख्या २५१ पुगेको छ ।

मन्त्रालयको पछिल्लो अद्यावधिक विवरणअनुसार मृत्यु हुने १२ जना संक्रमित मध्ये ६ जना महिला र ६ जना रहेको छ ।

प्रवक्ता गौतमले कोरोना संक्रमणबाट चितवनको १८ र ५५ वर्षीया दुई महिला, काठमाडौंको ८९ वर्षीया महिला, ललितपुरको ७० वर्षीया महिला, तनहुँको २० वर्षीया महिला र कपिलवस्तुको ६० वर्षीया महिलाको निधन भएको बताए ।

यसैगरी बाराको ९७ वर्षीय पुरुष, चितवनको ६५ वर्षीय पुरुष, भक्तपुरको ४० वर्षीय पुरुष, काठमाडौंको ७० र ७५ वर्षीय पुरुष साथै धादिङको ४७ वर्षीय पुरुष रहेको उनले जानकारी दिए ।