१३ भदौ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ८८४ जनामा कोभिड-१९ पुष्टि भएको जानकारी दिएको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले २४२ महिला र ६४२ जना पुरुषलाई कोभिड-१९ पुष्टि भएको जानकारी दिँदै योसँगै कूल संक्रमित संख्या ३७ हजार ३४० पुगेको बताए ।
उनले सक्रिय संक्रमितहरूको संख्या १६ हजार ५७८ जना साथै क्वारेन्टाइनमा ८ हजार ३५ जना रहेको बताए ।
हालसम्म निको हुने कोरोना संक्रमितहरुको संख्या २० हजार ५५५ पुगेको उनले बताए ।
यसैगरी प्रवक्ता गौतमले ३ जना महिला र ९ जना पुरुषको निधन गरी थप १२ जना कोरोना संक्रमितको निधन भएको बताए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने संक्रमितको संख्या २०७ पुगेको छ ।
उनले मत्यु हुनेहरुमा पाल्पाको ३० वर्षीया महिला, काठमाडौंको ५१ वर्षीया महिला र भक्तपुरको ६२ वर्षीया महिलाको निधन भएको बताए ।
यस्तै पर्साको ४८ र ३९ वर्षका दुई पुरुष, सिरहामा ८४ वर्षीय एक पुरुष, गोर्खाका ३८ वर्षीय एक पुरुष, कास्कीका ५८ वर्षीय एक पुरुष, काठमाडौंमा ८३ वर्षीय एक पुरुष, ललितपुरमा ७२ र ६१ वर्षीय दुई पुरुष र भक्तपुरमा ८२ वर्षीय पुरुषको निधन भएको उनले जानकारी दिए ।