थबाङ गाउँपालिका प्रमुख घर्तीमगर ‘वियोग’ अपहरणमा

३० भदौ ०७४, काठमाडौं ।  तत्कालीन माओवादी लडाकुका पूर्व कमाण्डर तथा रोल्पाको थबाङ गाउँपालिका प्रमुख बीरबहादुर घर्तीमगर ‘वियोग’ अपहरणमा परेका छन् ।

बिहीबार राति  साढे ११ बजे थबाङ गाउँपालिका वडा नम्बर २ कोईजबाङ ससुराली जाँदै गर्दा उनी अपहरणमा परेका हुन् ।  रोल्पाको उवा निवासी घर्तीमगरले स्थानीय तहको निर्वाचनमा स्वतन्त्रतर्फबाट प्रमुखमा उम्मेदवार बनेका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाको थबाङकै युवा नेता अमित घर्तीमगरलाई पछि पार्दै नेकपा माओवादी केन्द्रका तर्फबाट गाउँपालिका प्रमुखमा निर्वाचित भएका थिए ।

प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले  राति ११ बजेतिर गाउँ पालिका प्रमुखको अपहरण भएको सूचना आए लगत्तै  राति १ बजेतिरबाटै उहाँको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अनुसन्धान कार्यालयबाट सुरक्षाकर्मीलाई खटाइएको बताए ।

शनिबार हुने प्रथम गाउपालिका भेलामा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गाउँसभाको उद्घाटन गर्ने कार्यक्रम तयारी गरिरहेका बेला गाउँपालिका प्रमुख घर्तीमगरलाई अपहरण गरिएको हो । शनिबार आयोजना गरिएको गाउसभा गर्ने वा नगर्ने भन्नेबारेमा टुंगो नलागेको गाउँपालिका कार्यालयले जनाएको छ ।

 

 

 

 

तपाइको मत