४ असार ०७४, रोल्पा । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले स्थानीय तह निर्वाचनका लागि रोल्पाको थवाङमा उम्मेदवारी दर्ता गराएको छ ।
देशभर स्थानीय चुनाव बहिस्कार गरेको विप्लव समूहले आइतबार रोल्पाको थवाङमा कांग्रेससँग तालमेल गरेर उम्मेदवारी दर्ता गराएको हो ।
थवाङ गाउँपालिकाको अध्यक्षमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट अमित घर्तीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसले अध्यक्ष पदमा विप्लव समूहका अमितलाई समर्थन गर्दै उपाध्यक्षमा श्रीकुमारी रोकालाई उम्मेदवार बनाएको छ ।
देशभरिमा एक ठाउँ उम्मेदवारी दिएको विप्लव समूहमै बागी आइलागेका छन् । त्यहाँ भक्तबहादुर घर्तीले पनि उम्मेदवारी दिएका छन् । उनी अमितका बागी हुन् ।
तर, भक्तबहादुरले माओवादी केन्द्रको उक्साहटमा उम्मेदवारी दिएकाले उनको उम्मेदवारी फिर्ता गराउने विप्लव समूहका स्थानीय नेताले बताएका छन् ।
थवाङमा एमालेका हितबहादुर रोका अध्यक्ष र धनकुमारी बुढामगर उपाध्यक्षको उम्मेदवार छन् । त्यसैगरी माओवादी केन्द्रबाट वीरबहादुर घर्तीमगर ‘वियोग’ले अध्यक्षमा र रामकिरणी रोकामगरले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेस र एमालेबीच चुनावी तालमेल
रोल्पाको राजनीतिमा देखिएको अर्को रोचक घटना के छ भने रोल्पाको माडी गाउँपालिकामा कांग्रेस र एमालेबीच चुनावी तालमेल भएको छ ।
माडी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका गोपाल घर्ती र उपाध्यक्षमा एमालेका प्रेम घर्ती उम्मेदवार बनेको कांग्रेस रोल्पाका जिल्ला सभापति अमर पुनले जानकारी दिए । सो गाउँपालिकाका ६ मध्ये ३ वडामा कांग्रेस र एमालेबीच तालमेल भएको छ ।
माओवादीको प्रभाव क्षेत्र मानिने रोल्पामा माओवादी पार्टीलाई पहिलो बन्न नदिने रणनीति अनुसार कांग्रेस र एमालेले तालमेल गरेका हुन् ।
त्रिवेणीमा माओवादी केन्द्र परित्याग गरेका कुलानन्द गिरी मालेको उम्मेदवार
रोल्पाको त्रिवेणी गाउँपालिकामा भने माओवादी केन्द्र परित्याग गरेका कुलानन्द गिरी नेकपा मालेको चुनाव चिन्ह लिएर अध्यक्षमा उम्मेदवार बनेका छन् । त्रिवेणीमा मालेले उपाध्यक्ष पदमा खिउ कुमारी घर्तीलाई उम्मेदवार बनाएको छ ।
त्रिवेणी गाउँपालिकामा कांग्रेसले कमल बुढामगरलाई अध्यक्ष र राधिका हमाललाई उपाध्यक्षको उम्मेदवार बनाएको छ ।
यसैगरी एमालेले शान्तकुमार वलीलाई अध्यक्ष र सावित्रा बुढालाई उपाध्यक्ष तथा माओवादीले गंगाप्रसाद घर्ती ‘सूर्य’लाई अध्यक्ष र लालसरी घर्तीमगरलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ ।