दमौलीमा मध्यराति भीषण आगलागी, २४ टहरा जले

७ जेठ ०८१, तनहुँ । दमौलीको मूलचोक नजिकैको टहरामा आइतबार मध्यराति भीषण आगलागी भएको छ ।

व्यास नगरपालिका कार्यालयसँगै रहेको जिल्ला समन्वय समिति तनहुँको जग्गा भाडामा लिएर बनाइएको टहराहरु जलेको हो ।

यहाँका २४ वटा टहरामा २१ जना व्यवसायीले व्यापार गर्दै आएका थिए । आगलागीले यहाँ रहेका आइसक्रिम, मोवाइल, स्टेशनरी, फलफूल र मदिरा पसल सबै जलेका छन् ।

व्यास नगरपालिका–१ का केहरसिं आलेले पनि यहीँको टहरामा मोबाइल पसल राखेका थिए । व्यवसायी आलेले आगलागीपछि भने, ‘हामी त अब बेरोजगार भयौं । के गर्ने अब, गरिखाने थलो नै यही थियो, त्यो पनि आगोले छिनभरमा जलाएर खरानी बनायो ।’

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अपिलराज बोहराका अनुसार आगलागीबाट करिब ७ करोड ६० लाख रुपैयाँको धनमाल जलेको छ ।
उनले भने, ‘कमजोर संरचना र विद्युतीय चुवावटका कारण आगलागी भएको पाइयो । समयमा नै आगो नियन्त्रणमा आएकाले अन्य क्षेत्रमा आगो फैलन पाएन ।’