१२ कार्तिक ०८०, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक पार्टीहरुप्रति भइरहेका आलोचना र टिप्पणीलाई सकारात्मकरुपमा लिएको बताएका छन् ।
बडादशैं, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसर पारेर कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आादनप्रदान कार्यक्रममा सभापति देउवाले यस्तो बताएका हुन् ।
कांग्रेस लोकतान्त्रिक पार्टी हुनाका नाताले राजनीतिक दलहरुप्रतिको आलोचनालाई सकारात्मकरुपमा लिएको बताउँदै सञ्चारकर्मीसँग उनले भने, ‘दलहरुप्रति आएको आलोचना र टिप्पणीलाई मैले सकारात्मक लिएको छु ।’
उनले राजनीतिक दलहरुले आफूलाई जनताका बीचमा लोकप्रियता हासिल गर्न राम्रोसँग काम गर्नुपर्ने भन्दै राजनीतिक दल र राज्यका संस्थाप्रति विश्वास नघटेको दाबी गरे ।
कांग्रेस पार्टीमा मात्रै नभएर जुनसुकै पार्टीभित्र फरक मत हुन सक्ने भन्दै उनले काँग्रेस पार्टीको पछिल्लो घटनालाई व्यवस्थापन गरिरहेको बताए ।
हालै कोशी प्रदेशको सरकार गठनका क्रममा शेखर कोइराला समूहले ८ जना सांसद लिएर एमालेको सहयोगमा केदार कार्कीलाई मुख्यमन्त्री बनाएपछि विभिन्न कोणबाट कांग्रस पार्टीभित्र बहस चलिरहेको छ ।