दाहालको पहलमा निर्मित बद्री विशाल माविको भवन स्थानीयलाई हस्तान्तरण

धादिङ । समाजसेवी लोकप्रसाद दाहालको पहलमा निर्मित बद्री विशाल माध्यामिक विद्यालयको आठ कोठे भवन स्थानीयलाई हस्तान्तरण गरिएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएन) बेल्जियमका निर्वतमान अध्यक्ष समेत रहेका दाहालको पहलमा निर्मित पक्की भवन आइतबार औपचारिक रुपमा स्थानीयलाई हस्तान्तरण गरिएकोे हो ।

विद्यालय प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी दाहाल नेतृत्वमा आएको डा.लुक विकोर्ड तथा सहयोगी संस्था फ्रम पिपुल टु पिपुल बेल्जियमको टिमले विद्यालय स्थानीयलाई हस्तान्तरण गरेका हुन् ।

धादिङको गंगाजमुना गाउँपालिका, बुढाथुमस्थित उक्त विद्यालयको भौतिक संरचना गत २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको थियो भने ७२ लाख रुपैयाँ भन्दा बढी लगानीमा निर्माण भएको बताइएको छ ।

बुढाथुममै जन्मिएर हाल बेल्जियममा बस्दै आएका समाजसेवी दाहालले क्षतविक्षत अवस्थामा रहेको विद्यालयको पठनपाठनलाई सहज बनाउनका लागि आफ्नै नेतृत्वमा टोली लिएर बुढाथुम आएका हुन् ।

उक्त भवनलाई विद्यालय र स्थानीयवासीले बेल्जियम भवन भनेर नामाकरण समेत गरेका छन् ।

दाहालले भुकम्पपछि भूकम्प पीडितहरुका लागि निःशुल्क स्वास्थ्य शिविर, खानेपानीको व्यवस्था गर्नुका साथै पूरै गाउँलाई पुग्ने जस्तापाता, त्रिपाल तथा अन्य राहतका सामाग्री वितरण गरेका थिए । भने, बुढाथुममा मात्रै नभएर उनले अन्य जिल्लामा समेत भूकम्प पीडितहरुका लागि सहयोग गरेका थिए ।

विद्यालयलाई भवन हस्तान्तरण गर्ने कार्यक्रममा ३ नम्बर प्रदेशसभा सदस्य जगत सिंखडाले लोक प्रसाद दाहाल लगायतको बेल्जियमका मनकारी टिमलाई धन्यावाद व्यक्त गरेका थिए ।

तपाइको मत