२१ बैशाख, काठमाडौं । श्रीमतीको उपचारका लागि दिल्ली पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले दिल्लीबाट फर्किए लगतै एमाले नेतृत्वको सरकारविरुद्ध नयाँ कार्ड फालेका छन् ।
मंगलबारदेखि सुरु भएको व्यवस्थापिका संसदको अधिवेशन ‘बजेट अधिवेशन’ भए पनि कांग्रेसले नयाँ सरकार बनाउने प्रयास थालेको छ । कांग्रेस एमाओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन समेत तयार देखिएको छ ।
कांग्रेसले आफ्नो नेतृत्वमा सहमति नजुटे एमाओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री दिएर भए पनि तत्कालै नयाँ सरकार बनाउने निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार हरेक मोर्चामा असफल भएपछि एमाओवादी नै सरकारप्रति असन्तुष्ट रहेकै बेला गृह र अर्थ मन्त्रालय आफूले राखेर प्रचण्डलाई प्रधानमन्त्री बनाउन कांग्रेस तयार देखिएको हो ।
ओली सरकार सीमाङ्कन र मधेशको मुद्दा सम्बोधन नगरे ढल्ने पक्का
लाजिम्पाट स्रोतकाअनुसार माओवादी पार्टीहरुको एकताका लागि भएका विभिन्न माओवादी घटकहरुसँगको छलफलमा समेत एमाओवादी अध्यक्ष प्रचण्डले मधेशका मुद्दा र सीमाङ्कनका विवाद मिलाउन प्रधानमन्त्री ओली सकारात्मक नबने त्यही विषयमा टेकेर ओली सरकार ढल्ने निश्चित छ ।
‘आफ्नै जोडबलमा बनेको ओली सरकार ढाल्नका लागि प्रचण्ड आफैं अघि सरेका छैनन् । तर, उनले महासचिव कृष्णबहादुर महरालाई परिचालन गरेका छन्’ स्रोत भन्छ, ‘देउवा दिल्ली भ्रमणमा रहेकै बेला दिल्लीमै पुगेका महराले त्यहीँ देउवासँग नयाँ सरकार गठनबारे छलफल गरेका थिए ।’
देशी–विदेशी शक्ति केन्द्रहरुको चलखेल बढेपछि संविधान जारी
‘रुपमा भए पनि कम्तीमा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता आएको छ । यो माओवादीको एजेण्डा हो । यदि संविधान जारी नगरिएको भए त्यो पनि हुन नदिने देखेपछि मेरै जोडबलमा संविधान जारी भएको हो ।’ आफ्ना निकटस्थहरुसँग प्रचण्डले भन्ने गरेका छन, ‘देशी–विदेशी शक्ति केन्द्रहरुले जनतालाई भ्रम दिन झुठको खेती गर्न लागे । माओवादीले जनयुद्ध सञ्चालन ग¥यो, जनआन्दोलन भयो, आन्दोलन गरेर, मान्छे मारेर र मरेर केही हुँदैन’ भन्ने गरी जनतामा भ्रम पर्ने गरि चलखेल बढेपछि संविधान जारी गरिएको हो ।’
‘यही संविधान जारी गर्न एमाले सहमत थिएन । केपी ओली नेपालमा गणतन्त्र आउनु भनेको वयलगाडा चढेर अमेरिका जानु हो भन्थे । उनी नयाँ संविधानमा हस्ताक्षर गर्ने पक्षमा थिएनन्’ प्रचण्डलाई उदृत गर्दै स्रोत भन्छ, ‘नयाँ संविधान जारी भएपछि प्रधानमन्त्री बनाउँछु भनेपछि मात्र ओलीले हस्ताक्षर गरेका हुन् ।’
स्रोतकाअनुसार प्रचण्डले तत्कालीन प्रधानमन्त्री स्व.सुशील कोइरालालाई पनि एमालेले कांग्रेस सरकारलाई दिएको समर्थन फिर्ता लिन लगाउँछु भने पछि काँग्रेस सभापति कोइरालाले सरकार पनि ढल्ने, संविधान बनेको जसको नेतृत्व पनि लिन नपाइने भन्ने डरले संविधान जारी गर्न सहमत भई हस्ताक्षर गरेका हुन् ।
एमाओवादी अध्यक्ष प्रचण्डले आफू निकटलाई आफ्नो सम्पर्क भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री सुस्मा स्वराज र राजनाथ सिंहसँग पनि भएको बताउँदै आफू भारतको मित्र बन्न तयार रहेको तर दलाल बन्न तयार नभएको बताउने गरेका छन् ।