दुई नम्बर प्रदेशको जिल्ला एकता भेलाको मिति सार्वजनिक

२४ असार, काठमाडौं । नेकपा माओवादी केन्द्र ‘२ नम्बर प्रदेश’को सचिवालय बैठकले भदौ २ गतेसम्मको कार्यक्रम सार्वजनिक गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको प्रदेश नम्बर २ को काठमाडौं उपत्यकामा उपलब्ध सचिवालय सदस्यहरुको बैठकले साउन १ गतेदेखि भदौ २ गतेसम्मको कार्यक्रम तय गरेको हो ।

प्रदेश नम्बर २ का इन्चार्ज मातृका यादवको अध्यक्षता साथै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको विशेष उपस्थितिमा बसेको बैठकले साउन १ र २ गते सचिवालयको पूर्ण बैठक जनकपुरमा बस्ने निर्णय गरेको छ ।

बैठकपछि जारी गरिएको विज्ञप्तिमा साउन १ गतेदेखि ११ गतेसम्म २ नम्बर प्रदेशको सबै जिल्लाको एकता भेला तथा प्रशिक्षण गर्ने उल्लेख गरिएको छ ।

मातृका यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा साउन ३ गते धनुषा, साउन ४ गते सिरहा, साउन ५ गते सप्तरी, साउन ७ गते महोत्तरी, साउन ८ गते सर्लाही, साउन ९ गते रौतहट, साउन १० गते बारा र साउन ११ गते पर्सा जिल्लामा जिल्लाको प्रशिक्षण तथा एकता भेला गर्ने निर्णय भएको उल्लेख छ ।

यसैगरी उक्त विज्ञप्तिमा भदौ २ गते रामवृक्ष यादव स्मृति मनाउने उल्लेख गर्दै असार १८ गते जनकपुरको जनता माध्यमिक विद्यालयमा भएको विवादको छानबिन गर्न ३ सदस्यीय छानबिन समिति समेत गठन गरेको छ । छानबिन समितिमा जगतप्रसाद यादव, अनिल श्रेष्ठ र राजु खड्का रहेका छन् ।

pradesh no 2

 

तपाइको मत