२ असोज ०७४, काठमाडौं । दुई नम्बर प्रदेशको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
निर्वाचन आयोगले सोमबार सम्पन्न निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको र ७३ प्रतिशत मत खसेको जनाएको छ ।
मतदाताहरुले उत्साहजनक रुपमा मतदान गरेका छन् । बिहान सात बजेदेखि मतदानको समय तोकिए पनि करिब दुई-तीन घण्टा अघि नै मतदाताहरु लाइनमा बसेका थिए ।
बृद्धबृद्धाहरु पनि परिवारको सदस्यको सहयोगमा मतदान स्थलमा पुगेका थिए ।
प्रदेश २ को सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी आठ जिल्लाका १३६ स्थानीय तहमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
निर्वाचन आयोगका अनुसार सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १५ मा राजपाका वडाध्यक्ष उम्मेदवारको निधन भएका कारण दुई वटा मतदान केन्द्रमा मतदान हुन सकेन । त्यहाँ ५ गते मतदान गर्ने तय भएको छ ।
प्रमुख आयुक्त यादवद्वारा राजदेवी केन्द्रबाट मतदान
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले राजविराज पुगेर मतदान गरेका छन् ।
आयुक्त डा.यादवले सोमबार बिहान ७ बजे राजविराजको वडा नम्बर २ स्थित आधारभूत विद्यालय राजदेवी मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
अति व्यस्तताका बावजुद उनले राजविराजको थानगाछीस्थित मतदान केन्द्रको समेत निरीक्षण गरेका छन् ।
यसै बिच संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीतेन्द्रनारायण देवले सोमबार बिहान राजविराज नगरपालिकाअन्तर्गत बोरियास्थित नरेन्द्र मेमोरियल माध्यामिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका छन् ।
त्यस्तै जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरीले पनि राजविराजस्थित बजारमा रहेको पब्लिक विन्देश्वरी उच्च मावि मतदान केन्द्रमा मतदान गरेकी छन् ।
जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार कुल ५ हजार ६ सय ३२ जनाले उम्मेदवारी दिएकोमा १ सय १ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
यसैबीच हनुमाननगर कंकालनी नगरपालिका– ९ स्थित मतदान केन्द्रमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कार्यकर्ता र उम्मेदवारबीच मतदान गर्ने विषयमा विवाद हुँदा त्यहाँको अवस्था केही तनाव भएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।
यो चुनावले ६ हजार ६१९ जनप्रतिनिधि चयन गर्नेछन् । कुल ६ हजार ६२७ पदमध्ये ८ जना भने निर्विरोध निर्वाचित भइसकेका छन् । चुनावमा ३७ हजार २३६ उम्मेदवार चुनावी मैदानमा छन् ।