२१ भदौ ०७४, काठमाडौं । निर्वाचन आयोगले प्रदेश नं. २ का ८ जिल्लाका कुल १३६ स्थानीय तह निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्दैछ ।
आज बुधबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म २ नम्बर प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट बारा र पर्सा जिल्लाका स्थानीय तहमा मनोनयन दर्ता गरिने निर्वाचन आयोगले जनाएको छ ।
यसअघि बैशाख ३१ गते पहिलो चरणको र असार १४ गते दोस्रो चरणको निर्वाचन सम्पन्न भइसकेको छ ।
सरकार र निर्वाचन आयोग यो प्रदेशको निर्वाचनमा पहिलो र दोस्रो चरणको निर्वाचन बहिष्कार गरेको राष्ट्रिय जनता पार्टी नेपालले समेत सहभागिता जनाएकाले निर्वाचन उत्साहजनक रुपमा सम्पन्न हुनेमा विश्वस्त देखिन्छन् ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा संविधानसभाबाट जारी ‘नेपालको संविधान’ ले व्यवस्था गरेबमोजिम सात वटा प्रदेश र ७७ जिल्लाका ७५३ वटा स्थानीय तहमध्ये पहिलो चरणमा २०७४ वैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २८३ वटा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको बताए ।
यसैगरी पत्रकार सम्मेलनमा उनले दोस्रो चरणमा प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ गरी जम्मा ६१७ वटा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको जानकारी गराए ।
प्रमुख आयुक्त यादवले अब तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर दुईका आठ जिल्लाका १३६ वटा स्थानीय तहमा असोज २ गते हुने मतदान प्रयोजनका लागि आज भदौ २१ गते उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम रहेको बताए ।
यस निर्वाचनमा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा
स्थानीय तहमा निर्वाचन हुँदैछ ।
यो निर्वाचनबाट ६ हजार ६२७ जना प्रतिनिधिहरु निर्वाचित हुनेछन् । यसका लागि दुई हजार १६६ मतदान स्थलमा तीन हजार ५७८ मतदान केन्द्र रहने छन् भने मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ३१ हजार ५०० जना कर्मचारी खटिने छन् ।