१ माघ, पर्वत ।
उर्जामन्त्री टोपबहादुर रायमाझीले अबको दुई हप्ताभित्र मधेस आन्दोलन र नाकाबन्दी अन्त्य गर्न सरकार क्रियाशील रहेको जानकारी गराए । उनले भारतीय नाकाबन्दीबाट नेपालमा राष्ट्रियताको भावना जाग्रित हुन थालेपछि भारतीय नाकाबन्दी साथै मधेसी मोर्चाको आन्दोलन मत्थर भएको दाबी गरे ।
उर्जामन्त्री रायमाझीले शुक्रबार पर्वतमा आयोजित एक कार्यक्रममा भारतीय नाकाबन्दीको कारण नेपाली जनतामा राष्ट्रियताको भावना जाग्न थालेपछि मधेसी मोर्चाको आन्दोलन शिथिल हुँदै गइरहेको र भारतीय नाकाबन्दी पनि खुकुलो भएको बताएका हुन् ।
उर्जामन्त्री रायमाझीले कांग्रेस सभापति सुशील कोइराला फेरि प्रधानमन्त्री बन्ने र डा. बाबुराम भट्टराईले मधेसी, थारुका मुद्दा उठाएर औद्योगीक क्रान्ति गर्छु भनेर तानाबुना बुने पनि उनीहरुको योजना सफल नहुने बताए ।
मन्त्री रायमाझीले कांग्रेस सभापति सुशील कोइराला फेरि प्रधानमन्त्री बन्ने र नयाँ शक्ति निर्माण अभियानका डा.बाबुराम भट्टराईले पुँजीवादी पार्टी गठन गरेर नयाँ शक्ति बनाउछु भन्दै मधेसी समुदायको मुद्दा उचालेर नेपालमा औद्योगीक क्रान्ति गर्छु भन्नु हाँस्यस्पद भएको टिप्पणी गरे ।