दुर्गम र गरीब भूकम्प पीडितलाई पहिलो प्राथमितामा राख्न प्रधानमन्त्रीको निर्देशन

राहत, उद्दार र उपचारमा देखाएको तदारुकताप्रति रास्वपाले सरकारलाई दियो धन्यवाद

२० कार्तिक ०८०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैभन्दा दुर्गम र गरीब भूकम्प पीडितलाई पहिलो प्राथमिकता राख्न निर्देशन दिएका छन् ।

भूकम्प पीडितको राहत र उद्दारमा सरकारको तदारुकताका लागि धन्यवाद ज्ञापन गर्न आएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको एक प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

रास्वपाले उठाएका सुझाबहरु प्रायः मन्त्रिपरिषद् र राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणबाट निर्णय गराएको बताउँदै प्रधानमन्त्रीले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको धन्यवादले मलाई उर्जा मिलेको छ ।’

प्रधानमन्त्रीसँगको भेटमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधि सभा सदस्य तथा उपसभापति डोर प्रसाद अर्यालले सडक पहुँच नभएकालाई प्राथमिकतामा राख्न प्रधानमन्त्री समक्ष आग्रह गर्नुभएको थियो ।

अर्यालकाअनुसार प्रधानमन्त्रीलाई रास्वपाले ६ बुँदे सुझाबहरु पेश गर्दै प्राप्त विवरण ठीक ठाउँमा पुगे नपुगेको अनुगमन गर्न, चिसोको बेला विशेष ध्यान दिन र राहत र पुनस्र्थापनाका लागि कानूनमा आवश्यक सुधार गर्न सरकारको ध्यानाकर्षण गराएको थियो ।