१७ भदौ ०७५, काठमाडौं । नेपाल चिकित्सक संघले आइतबार देशभरका सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पारेका छन् ।
सरकारले भदौ १ देखि लागू भएका मुलुकी देवानी र अपराध संहिता संशोधन गर्ने लिखित प्रतिबद्धता पूरा नगरेको विरोधमा डाक्टरहरूले देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा ठप्प पारेका हुन् ।
अस्पतालको टिकट काउन्टरमा संघको विज्ञप्ती टाँस गरेर ओपीडी सेवा दिन नसकिएको जनाइएको छ । जसका कारण उपचारको लागि आएका बिरामीहरु प्रभावित बनेका छन् ।
बिरामीको ज्यान बचाउने सफा नियतले आफूले भ्याएसम्म उपचार गर्दा केही अनपेक्षित घटना भए चिकित्सकलाई ज्यानमारासरह व्यवहार गर्ने कानुन संशोधन गर्न माग गर्दै उनीहरूले संगठित विरोध सुरु गरेका हुन् ।
संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले शंकाकै आधारमा वा कसैले उजुरी गरेकै आधारमा उपचार प्रक्रियामा संलग्न चिकित्सकलाई फौजदारी कानुनअन्तर्गत हिरासतमा राखेर छानबिन गर्न नहुने बताए । उनले भने –‘अपराधी अपराधी नै हो, चिकित्सक होस् वा अन्य । त्यसैले गल्ती गर्नेले मात्रै दण्ड पाउने व्यवस्था गर्नुपर्छ ।’
संघले सोमबारदेखि शुक्रबारसम्मका लागि आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ । आन्दोलनका कार्यक्रम अन्तर्गत सोमबार देशभरका स्वास्थ्य संस्थाका प्रशासनिक काम बन्द गर्ने, मंगलबार आकस्मिकबाहेकका अन्य अन्तरंग सेवामा बिरामी भर्ना गर्ने कार्य बन्द गर्ने, बुधबारदेखि आकस्मिकबाहेकका अन्य शल्यक्रिया बन्द गर्ने, बिहीबारदेखि आकस्मिकबाहेकका ल्याब तथा रेडियोलोजी सेवा बन्द गर्ने र शुक्रबारदेखि आकस्मिकबाहेकका ओपिडीलगायतका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने सम्मका आन्दोलनका कार्यक्रम संघले तय गरेको छ ।