२२ भदौ ०८०, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज देशभर ५७ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउँदै छ ।
शुक्रबार ‘दिगो र शान्तिपूर्ण समाज निर्माणका लागि, साक्षरताको प्रवद्र्धन’ भन्ने मूल नारा दिई ५७ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको हो ।
सरकारले २०८०/८१ भित्र नेपाललाई साक्षर घोषणा गर्ने लक्ष्य लिएर अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउँदै आएको छ ।
अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभर गतवर्ष साक्षरता घोषणा भएका जिल्लाहरुलाई सम्मान एवं प्रसंशापत्र प्रदान गर्ने, छलफल, बहस, अन्तरक्रिया वृक्षारोपण, साक्षरता सम्बन्धी लोकदोहोरी गीत छायांकन एवं प्रशारण गर्ने लगायतका कार्यक्रम गरिरहेको जनाएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ६४ जिल्ला साक्षर घोषणा भइसकेको र पाँच वर्षमाथि ७६.२ प्रतिशत र १५–६० वर्ष उमेर समूहको ८५ प्रतिशत साक्षर रहेको जनाएको छ ।
केन्द्रले अब कर्णाली प्रदेशको ५ जिल्ला ( मुगु, जुम्ला, हुम्ला, कालिकोट र डोल्पा) र मधेश प्रदेशका ८ जिल्ला (सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा) गरी १३ जिल्ला साक्षर घोषणा हुन बाँकी रहेको जानकारी दिएको छ ।
केन्द्रकाअनुसार देशभर ३६ हजार ३२ वटा सञ्चालित विद्यालयहरुमध्ये सामुदायिक २७ हजार ३४३ र संस्थागत ७ हजार ३७३ वटा सञ्चालनमा रहेका छन् ।