२३ फागुन ०७९, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शान्ति प्रक्रियालाई पुरानो ठाउँमा फर्काएर देशलाई द्वन्द्वमा फर्काउने प्रयत्न भइरहेको भन्दै यसप्रति सरकार संवेदनशील रहेको बताएकी छन् ।
नेपाल सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री शर्माले धादिङको गल्छीमा मंगलबार आयोजित सामुदायिक रेडियोको प्रतिनिधिहरुको सम्मेलनलाई सम्बोधन गर्दै विस्तृत शान्ति सम्झौता विथोल्न विभिन्न खालका षडयन्त्र भइरहेको बताएकी हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरेर मुद्दा चलाउन गरिएको माग षडयन्त्र हुनसक्ने बताउँदै भनिन्, ‘शान्ति प्रक्रियालाई पुरानो ठाउँमा फर्काएर देशलाई फेरि द्वन्द्वमा फर्काउने प्रयत्न भइरहेको हो कि ? म सरकारको तर्फबाट के भन्न चाहन्छु भने हामी यसप्रति अन्त्यन्त संवेदनशील छौं ।’
सत्य निरुपण तथा मेलमिलाप आयोग र संक्रमणकालीन न्यायको विषय समयमा टुंग्याउन नसक्दा विभिन्न खालका षडयन्त्र, विभिन्न खालका चलखेलहरु भइरहेको पनि बताइन् ।