२१ साउन ०७४, मकवानपुर । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले देश दलाल र माफियाहरुको हातमा रहेको भन्दै उनीहरुको चंगुलमा कर्मचारी संयन्त्र र राजनीतिक दलहरु पनि फसेको बताएका छन् ।
शनिबार हेटौंडामा उद्योगी ब्यवसायीसँग भएको छलफलमा मान्त्री शाहीले सो कुरा बताएका हुन् ।
‘देश दलाल र माफियाहरुको हातमा छ’ मन्त्री शाहीले भने, ‘उनीहरुको चंगुलमा कर्मचारी संयन्त्र र राजनीतिक दलहरु पनि फसेका छन् ।’
मन्त्री शाहीले संवैधानिक आयोग र संसदीय समितिले आफ्नो क्षेत्राधिकार मिचेर निर्णय गर्ने क्रम पनि बढेको टिप्पणी गरेका छन् ।
संसदीय समितिले स्वेच्छाचारी निर्णयहरु गर्दा लोडसेडिङ हटाउने अभियानमा अवरोध आएको बताउँदै उनले भने, ‘न्यायालयको भूमिकामाथि पनि आजभोलि सर्वसाधारण सशंकित छन् । अख्तियार र संसदीय समितिहरु पनि आफ्नो क्षेत्राधिकारभित्र बसेका छैनन्, यसले काम गर्नेहरुलाई हतोत्साही बनाउँदैछ ।’
सोलार प्लान्टको ठेक्का रद्द गर्न संसदको लेखा समितिले दिएको निर्देशनप्रति संकेत गर्दै उनले यस्ता निर्णयले लोडसेडिङ दोहोरिने खतरा मात्रै निम्त्याएको बताए ।
१५ दिनभित्र स्पष्ट कार्यायोजना ल्याउन ठेकेदार कम्पनीलाई निर्देशन
ऊर्जामन्त्री महेन्द्रबहादुर शाही र नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले मकवानपुरको भैंसेमा निर्माणधीन कुलेखानी तेस्रो स्थलगत निरीक्षण गरेका छन् ।
आयोजना निर्माण्को गति सुस्त भएको भन्दै मन्त्री शाहीले ४ महिनाभित्र सक्ने गरी १५ दिनभित्र स्पष्ट कार्यायोजना ल्याउन ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् ।
उनले विभिन्न बाहना बनाएर पटक-पटक आयोजनाको निर्माणमा ढिलाइ भएको भन्दै अब यस्तो बहानाबाजी नचल्ने बताए ।
‘अहिलेसम्म जति बहाना बनाउनुभयो, अब त्यस्तो चल्दैन । १५ दिनभित्र कार्ययोजना बनाएर मलाई पेश गर्नुस्’ इलेक्ट्रोमेकानिकतर्फको सहायक ठेकेदार कम्पनी हुलासका सरदचन्द्र गोल्छालाई उनले भने, ‘म फेरि १५ दिनपछि आउँछु । काममा प्रगति भएन भने सरकारले हात बाँधेर बस्दैन ।’
प्राधिकरणका प्रमुख घिसिङले पनि जुनसुकै हालतमा हिउँदयाम अघि आयोजनाबाट उत्पादन सुरु हुनुपर्ने बताए । त्यसमा प्राधिकरणले सहयोग गर्ने बताउँदै उनले फेरि पनि आयोजनाको म्याद धकेल्न नसकिने बताए ।
नियमित काम गर्ने हो भने आयोजना दुई-तीन महिनामै सम्पन्न हुने
१४ मेगावाटको कुलेखानी तेस्रो निर्माण गरिरहेको चिनियाँ ठेकेदार कम्पनी झे जियाङ जिल्लुनले आयोजनाको काम सुस्त गतिमा गरिरहेको छ । राम्रोसंग नियमित काम गर्ने हो भने यो आयोजना अबको दुई तीन महिनामै सम्पन्न हुने अवस्था छ ।
कुलेखानी तेस्रोमा इलेक्ट्रोमेकानिकलको काम झे जियाङ जिल्लुनले जिम्मा लिएको छ । आयोजना स्थलमा इलेक्ट्रोमेकानिकल उपकरणहरु जडानको जिम्मा स्वदेशी कम्पनी हुलासले लिएको छ ।
दुई अर्ब ५० करोड लागत अनुमान गरिएको आयोजनाको म्याद लम्बिँदा चार अर्ब रुपैयाँ बढी खर्च
यो आयोजना सक्न सुरुवातमा दुई अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । तर, आयोजनाको म्याद लम्बिँदा चार अर्ब रुपैयाँ बढी खर्च भइसकेको छ ।
आयोजनामा सिभिलको भने ९८ प्रतिशत काम सकिएको छ । सिभिलको ठेक्का लिएको सिनो हाइड्रोले लगभग सबै काम सकेको छ ।
बाँकी २ प्रतिशत काममध्ये १ प्रतिशत सिभिल आफैंले सम्पन्न गर्न सक्छ भने अर्काे एक प्रतिशतको लागि इलेक्ट्रोमेकानिकलको सहायता लिनुपर्छ । इलेक्ट्रोमेकानिकलको काम अघि बढ्न नसक्दा सिभिलको काम पनि प्रभावित भएको छ ।
तोकिएको समयभन्दा ६ वर्ष ढिलो
सन् २००८ को अपि्रलदेखि सुरु भएको यो आयोजनाको निर्माण सन् २०११ डिसेम्बरसम्म सक्ने लक्ष्य थियो । तर तोकिएको समयभन्दा ६ वर्ष ढिलो भइसक्दा पनि कहिले सकिने भन्ने अन्योल अझै कायमै छ ।
मेसिन जडानको काम ६० प्रतिशत जति सकिएको छ भने ४० प्रतिशत बाँकी छ । टर्वाइन जडान र जेनरेटर जडानको काम अहिलेसम्म सम्पन्न हुन सकेको छैन ।