देश हामीले बिगारेको कि नेताहरुले ?

काठमाडौं । प्रजातन्त्र पुनर्स्थापना पछिका करिब तीन दशक एमाले कांग्रेसले नै आलोपालो सत्ता चलाए !!! एमाले कांग्रेसको घोषणा-पत्रहरुमा चना-चटपटे खाँदा खाँदा कपाल पनि फुलिसक्यो ।

Khagendra sangraula

यही तीन-चार दशकको टाइम फ्रेममा हिजो हामीले चामल पठाएको भोकमरीले ग्रस्त कोरिया आज विश्वकै सातौं ठूलो निर्यातकर्ता अनि बार्‍हौँ ठूलो अर्थतन्त्र भएको देश बन्यो ।

आज हाम्रा युवाहरु कोरियाका बंगुर फार्महरुमा पसिना बगाइरहेका छन् । यही टाइम फ्रेममा मलेसिया एउटा हिले टापुबाट एसियन टाइगर बन्यो, जहाँ लाखौं नेपाली युवाहरु आज पालेको रुपमा काम गर्दैछन् ।

युद्धले ध्वस्त भएको भियतनाममा आज हामीले प्रयोग गर्ने हरेक ल्यापटप, आईफोन र एनड्रोइड मोबाइलका चिपहरु बन्दछन् । ६-७ दशक अगाडि मात्रै बेलायती उपनिवेशबाट मुक्त भएको भारत २०२२ सम्ममा संसारकै चौथो ठूलो अर्थतन्त्र भएको देश बन्दैछ भने हिजो हामीसँगै हिँडेको चीनले २०३५ सम्ममा अमेरिकी अर्थतन्त्रलाई उच्छिन्ने छ ।

बितेका यी तीन दशकमा पचासौं हजार विद्युत उत्पादन गर्ने क्षमता भएको देशमा जम्मा ६०० मेगावाट बिजुली पनि उत्पादन गर्न नसक्ने राजनैतिक नेतृत्वले “रेल कुदाउँछौँ, जहाज चलाउछौँ, एक घर एक रोजगार सृजना गर्छौं” भन्दा एक प्लेट मटन र एक पेग ह्वीस्कीमा बिक्ने हामी जनता मख्ख पर्छौँ ।

चुनाव आउँछ, ल्याप्प ल्याप्चे लगाइदिन्छौँ, लुटको त्यही कथा दोहोरिन्छ । लु देश हामीले बिगारेको कि हाम्रा नेताहरुले ?

साभार : खगेन्द्र सङ्ग्रौलाको फेसबुकबाट ।

तपाइको मत