१७ असार ०७४, काठमाडौं । दोस्रो चरणको स्थानीय तहको निर्वाचन भएका ठाउँहरूमा मतगणना जारी रहँदा एमालेले जितको संख्या ६६ पुर्याउँदै अग्रता कायमै राखेको छ भने कांग्रेसले ४६ ठाउँहरूमा, माओवादीले २२ ठाउँहरूमा जित हासिल गरेको छ ।
अहिलेसम्म राष्ट्रिय जनमोर्चाले दुर्इ र संघीय समाजवादी फोरमले एक स्थानीय तह जितेका छन् । मतगणना भइरहेका ठाउँहरूमा अग्रताको हिसाबले एमाले र कांग्रेसबीच प्रतिस्पर्धा देखिएको छ ।
कांग्रेसका गढका रुपमा रहेका डडेलधुराको अमरगढी र गुल्मीको रेसुंगा नगरपालिकामा एमालेले जितेको छ भने एमालेको गढ मानिएको भोजपुर नगरपालिकामा कांग्रेसले जितेको छ ।
मतगणनामा ७ नम्बर प्रदेशका पहाडी जिल्ला सबैभन्दा अगाडि छन् । त्यस्तै प्रदेश नम्बर १ र ५ का पनि पहाडी जिल्लाकै धेरै नतिजा आइरहेका छन् ।













