हुमाकान्त पोखरेल
२८ असार ०७४, गुल्मी । धुर्कोट गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका छन् ।
गाउँपालिका प्रमुख भुपाल पोखरेल र उपप्रमुख शिव बहादुर खत्रीले गाउँपालिकाको कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।
बिहीबार प्रमुख र उपप्रमुखसहित बसेको गाउँपालिकाको पहिलो बैठकले गाउँपालिका भित्रका खरका छाना हटाउने निर्णय गरेको छ । जसको सट्टामा गाउँपालिकाले जस्ता पाता उपलब्ध गराउने छ ।
विशेष गरी गाउँपालिकाभित्रका गरीब परिवारलाई लक्षित गरी गाँउपालिकाको पहिलो बैठकले ‘जस्ता’ उपलब्ध गराउने गरी खरका छाना हटाउने निर्णय गरेको छ ।
त्यस्तै बैठकले गाउँपालिकाभिका युवाहरुलाई स्वरोजगार बनाउने उदेश्यले कृषि आधुनिक कृषि औजारमार्फत व्यवसायिक कृषि खेती प्रणालीको अवलम्बन गर्ने पनि निर्णय गरेको छ । जसअनुसार गाउँपालिकभित्रका सबै व्यवसायिक कृषकहरुलाई निःशुल्क रुपमा कृृषि औजार तथा सामाग्रीहरुको व्यवस्था मिलाउने गरी निर्णय गरिएको गाउँपालिकका कार्यकारी अधिकृत होमनाथ काफ्लेले बताए ।
यो निर्णयसँगै अबको ५ वर्षभित्रमा गाउँपालिकाका सबै युवाहरु स्वरोजगार हुने अधिकृत काफ्लेको दावी छ । त्यस्तै बैठकले गाउँपालिकाभित्रका सबै सडकहरुलाई बा¥है महिना सञ्चालनमा ल्याउने पनि निर्णय गरेको छ ।
सबै वडाबाट गाउँपालिका केन्द्र जैसिथोकको बर्बोट जोड्ने मोटरबाटाहरु बाह्ै महिना सञ्चालन गरी सेवालाई प्रभावकारी बनाउने निर्णय गरेको कार्यकारी अधिकृत काफ्लेले बताए ।
यसैगरी अगालागी, बाढी, पहिरो जस्ता बिपत आइपरेमा त्यसको लागि आवश्यक राहात सामाग्री तयार राख्ने निर्णय पनि गरेको छ ।
यस्तै गाउँपालिकालाई स्वच्छ र भयरहित बनाउन जाडँ रक्सी, जुवा, तास, धुम्रपान र मद्यपान जस्ता लागूपदार्थको अनियमित प्रयोगमाथि पूर्णरोक लगाई जनचेतनाका कार्यक्रमहरु गर्ने निर्णय पनि गरेको कार्यकारी अधिकृत काफ्लेको भनाई छ ।
त्यसका साथै निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण राजनीतिक दल, विभिन्न संघ संस्था, बुद्धिजिवी, निर्वाचन अधिकृतको कार्यलय, पत्रकार, सुरक्षा निकाय, विभिन्न सरोकारवाला, मतदाता सबैलाई धन्यवाद् दिने निर्णय समेत गरेको छ ।
के छन् गाउँपालिका पोखरेलका योजना :
धुर्कोट गाउँपालिकाका प्रथम गाउँपालिका प्रमुख भुपाल पोखरेलले ‘नमुना र समृद्ध धुर्कोट गाउँपालिकाको निर्माण’ नै आफ्नो प्रमुख योजना रहेको बताएका छन् ।
जसका लागि पोखरेलले एक घर÷एक धारा, स्वच्छ खानेपानी, हरेक टोल तथा समुदायमा बा¥है महिना सञ्चालन हुनेगरी मोटरबाटो सञ्चालन, पुरानालाई सम्मान, नयाँलाई प्रोत्साहन, युवालक्षित कार्यक्रम तथा कृषिमा आधुनिकीकरण जस्ता योजनालाई आफ्नो एजेण्डा बनाएका छन् ।
त्यस्तै गाउँपालिकाभित्रका सबै फरक क्षमता भएका प्रत्येक व्यक्तिलाई परिचय पत्र घर–घरमै वितरण तथा उपयुक्त भत्ता र जीवनयापन गर्ने खालको निःशुल्क सिपको व्यवस्था, बृद्ध बृद्धालाई सम्मान, सुत्केरी महिलाको लागि सुत्केरी खर्चको बृद्धि, लक्षित समुदायका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने उनको भनाई छ ।
त्यस्तै मौलिक लोकसस्ँकृतिको संरक्षण र प्रवद्धन, पर्यटकीय क्षेत्र जस्तै विचित्र गुफा, धुर्कोट कोट आदिको संरक्षण तथा प्रचार प्रसार गरी आन्तरिक र बाह्य पर्यटक भित्राउने जस्ता योजनाहरुलाई पनि उनले पाँच बर्षे कार्यकालको प्रमुख एजेण्डा बनाएका छन् ।
विशेष गरी स्वास्थ्य, शिक्षा, यातायात, कृषि, रोजगार, खानेपानी, सिंचाई लगायतका विकासका पूर्वाधारलाई थप व्यवस्थित बनाउँदै सरकारी कामकाजलाई सेवामुखी र जनमुखी बनाउने गाउँपालिका प्रमुख पोखरेलको भनाई छ ।