नक्कली नागरिकता लिएको आरोपमा उपमेयर मीराकुमारी पक्राउ

२० असार ०८०, जनकपुरधाम । कीर्ते कागजात पेश गरी नेपाली नागरिकता लिएर नेकपा (एमाले)बाट उपमेयर बनेकी भारतीय नागरिक मीराकुमारी यादव पक्राउ परेकी छन् ।

एमालेबाट उपमेयर उम्मेदवार बनेकी मीराकुमारी यादव सप्तरीको डाकनेश्वरी नगरपालिकाबाट गत स्थानीय तहको निर्वाचनमा निर्वाचित भएकी थिइन् ।

उपमेयर यादवलाई बुधबार साँझ साढे ५ बजे प्रहरीले हिरासतमा लिएको सप्तरीका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

उच्च अदालत जनकपुरको राजविराज इजलासले आइतबार प्रहरीलाई नागरिकता कसूरमा उपमेयर मीराकुमारीविरुद्ध अनुसन्धान अघि बढाउन आदेश दिएको थियो ।

उपमेयर मीराकुमारी र उनका पति महेन्द्र यादव भारतीय नागरिक रहेको खुलेको छ । उनीहरूले नक्कली प्रमाण खडा गरी नेपाली नागरिकता लिएको भन्दै डाकनेश्वरी नगरपालिका वडा नं. ४ का कृष्णकुमार यादव उजुरी लिएर प्रहरीमा पुगेपनि प्रहरीले उजुरी नलिएपछि कृष्णकुमार यादवले उच्च अदालतमा उजुरी दिएका थिए ।

उनको रिटमाथि सुनुवाइ गर्दै अदालतले प्रहरीलाई मुद्दा दर्ता गरी पक्राउ गर्न परमादेश जारी गरेको थियो ।

हाल उपमेयर मीराकुमारी यादवका पति महेन्द्र यादव फरार रहेको प्रहरीले बताएको छ ।

उजुरीमा उपमेयर मीराकुमारी यादव र उनका पति महेन्द्र यादव भारतको बिहार राज्यअन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौलनिवासी रहेको दाबी गरिएको छ ।