२७ बैशाख ०७८, काठमाडौं । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रपतिसमक्ष नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।
प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि प्रस्तुत गरेको प्रस्ताव अस्वीकृत भएसँगै तीन दलले राष्ट्रपति समक्ष नयाँ प्रधानमन्त्री नियुक्ति प्रक्रिया अघि बढाउन आग्रह गरेका हुन् ।
काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्तिमा जारी गरेर नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन भनेका छन् ।
संयुक्त विज्ञप्तिमा भनिएको छ, “सम्माननीय के.पी. शर्मा ओली नेपालको संविधान बमोजिम प्रधानमन्त्री पदबाट मुक्त हुनु भएकाले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया प्रारम्भ गर्न सम्माननीय राष्ट्रपतिज्यूलाई आव्हान गर्दछौं ।”