५ मंसिर ०७६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताका शपथ गराएकी छन् ।
बिहीबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपतिले नवनियुक्त ६ मन्त्रीलाई शपथ गराएकी हुन् । ३ राज्य मन्त्रीहरूलाई भने प्रधानमन्त्रीले शपथ गराएका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर ४ गते बुधबार मन्त्रिपरिषद् हेरफेर गरेकी थिइन् । नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपतिले र राज्यमन्त्रीलाई प्रधानमन्त्रीले शपथ गराउने संवैधानिक व्यवस्था अनुसार त्यसको भोलिपल्ट शपथ गराइएको हो ।
नवनियुक्त मन्त्रीहरूमा नेकपा सांसदहरू लेखराज भट्ट, घनश्याम भुसाल, वसन्त नेम्वाङ, हृदयेश त्रिपाठी, पार्वत गुरुङ, र रामेश्वर राय यादव छन् ।
भट्टलाई उद्योगमन्त्री, भुसाललाई कृषिमन्त्रालय र नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी, त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन, पार्वत गुरुङलाई महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालय र रायलाई श्रम मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
मन्त्री पद गुमाउनेहरूमा उद्योगमन्त्री मात्रिका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा रहेका छन् ।













