नवलपरासीको सीमावर्ती नाकामा सुरक्षाकर्मी र तस्करबीच  झडप

८ असोज ०७४, काठमाडौं । नवलपरासीको सीमावर्ती नाका महेशपुरमा कपडा तस्कर र सुरक्षाकर्मीबीच  झडप भएको छ ।

आईतबार बिहान सीमा नाकामा रहेको भारतीय बजारबाट भन्सार छलेर कपडा ल्याउँदै गरेको सुराकी पाएर पुगेको राजश्व अनुसन्धान पश्चिमाञ्चल क्षेत्रिय कार्यालय बुटवलको टोलीले कपडा पक्राउ गर्ने क्रममा तस्कर र सुरक्षाकर्मीबीच झडप भएको हो ।

सुरक्षार्कीसहित सात जना कर्मचारीको टोलीले कपडा पक्राउ गर्ने क्रममा तस्करहरुले स्थानीयलाई प्रयोग गरेर कर्मचारी र सुरक्षाकर्मीहरु माथि जाई लागेका थिए । सो क्रममा पीक अप भेनमा रहेका कपडाका ठूला गाँठ तस्करहरुले धानबारीमा लुकाएका थिए ।

सशस्त्र र प्रहरीको थप सुरक्षा बल पुगेपछि  धानबारीमा लुकाएर राखेका तीन कपडाका ठूला गाँठलाई बरामद गरिएको राजश्व अनुसन्धान कार्यालयले बताएको छ ।

करिब ५ भन्दा बढी कपडाका गाँठहरु रहेपनि केही गाँठ भने तस्करहरुले लुकाएको स्थानीयले बताएका छन् । कपडा बरामद गरिए पनि तस्करी कार्यमा प्रयोग भएको पिक अप भ्यान भने पक्राउ गर्न सकेको छैन ।

बरामद भएको कपडा करिब तीन लाख बढीको भएको अनुमान छ । सीमा क्षेत्रमा रहेका प्रहरीहरुको मिलमतोमा महेशपुर नाकाबाट दिनहुँजसो कपडा, मोटरपार्टस र कुखुराका चल्लाहरु तस्करी हुने गरेको आरोप आईरहेका बेला राजश्व गस्ती टोली उक्त सामान बरामद गरेको हो ।

नाकामा रहेका प्रहरीहरुको मिलमतोमा तस्करी भएको आलोचना बढेपछि बुटवलको टोलीले प्रहरीले नै तस्कर भगाउन सक्ने भन्दै अकस्मात उक्त स्थानमा पुगेर कपडा बरामद गरेको थियो ।

जिल्ला प्रहरी उपरीक्षक मुकुन्दराज आचार्य र शसस्त्र प्रहरी उपरीक्षक विरेन्द्रराज श्रेष्ठले राजश्वको टोलीले आफूहरुसँग समन्वय नगरी गएकाले झडपको स्थिति सृजना भएको बताए । समन्वय भएको भए तस्करहरु समेत पक्राउ पर्ने उनीहरुको दाबी छ ।

दशैं नजिकिएसँगै महेशपुर, भूजहवा, गुठिप्रसौनी, त्रिवेणी, झोलनीपुर लगायतका नाकाबाट कपडा लगायतका सामानको तस्करी बढेको छ । तस्करहरुले त्यस क्षेत्रमा गोदाम बनाएर राख्ने गरेका छन् । जुन गोदाममा दिनभर भारतबाट सामान ल्याएर राख्ने र प्रहरीको मिलमतोमा दिउँसै तस्करी गर्ने गरेको स्थानीयले बताएका छन् ।

तपाइको मत