नाउपाले फिर्ता लियो नेपाल बन्दको कार्यक्रम

५ जेठ ०८०, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले नेपालबन्दको कार्यक्रम फिर्ता लिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लाल आयोगको प्रतिवेदन सार्वजनकि गरिने साथै फौजदारी विधेयक संसदमा टेबल भइसकेको जानकारी दिएको भन्दै सो पार्टीले शुक्रबार नेपालबन्दको कार्यक्रम फिर्ता लिएको हो ।

नाउपाका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्री ज्यूले सदनमै ‘लाल आयोग’ प्रतिवेदन सार्वजनिक गरिने, फौजदारी विधेयक संसदमा टेबुल भैसकेकोलगायत अन्य राजबन्दीको रिहाइ कानुन संशोधन गरेर भए पनि निकाल्ने प्रतिवद्धता संसदमै जाहेर गर्नु भएको हुँदा सरकार पक्षसँग भएको सम्झौता सकारात्मक भएको महशुस नागरिक उन्मुक्ति पार्टीलाई भएकाले नेपाल बन्द कार्यक्रम स्थगित गरिएको छ ।’

यही जेठ ३ गते विभिन्न मागसहित नाउपाले लाल आयोगको प्रतिवेदन सार्वजनकि नगरिए ३, ४ र ५ गते राँके जुलुस, कोण सभा साथै जेठ ६ गतेदेखि १० गतेसम्म नेपालबन्द गर्ने घोषणा गरेको थियो ।