निजगढका क्रसर उद्योगहरू बन्द गर्न निर्देशन

४ पुस ०७७, बारा । जिल्ला समन्वय समिति बाराले निजगढ नगरपालिकालाई निजगढका क्रसर उद्योगहरू बन्द गर्न निर्देशन दिएको छ ।

जिल्ला समन्वय समिति बाराका संयोजक नवलकिशोर सिंहले अनुगमनका क्रममा ठेक्का नलागेका खोलाबगरहरूमा समेत जथाभावी नदीजन्य पदार्थको उत्खनन, दोहन भइरहेको पाइएकाले उक्त निर्देशन दिइएको बताए ।

संयोजक सिंहकाअनुसार निजगढ, कोल्हवी भएर बग्ने बकैया र धन्सार खोलामा जुनसुकै ढङ्गले भइरहेको उत्खनन, सङ्कलन कार्यलाई तत्कालै बन्द गर्न निर्देशन दिइएको छ ।

उनले भने, “खोलामा मानिसले ८÷१० फिटभन्दा गहिरो खाडल बनाई नदीजन्य पदार्थ झिक्ने गरेको पाइएपछि सो कार्य तत्कालै बन्द गर्न सम्बन्धित नगरपालिकालाई निर्देशन दिएका हौं ।”

उनले निजगढमा रहेका क्रसर उद्योगहरूका नदीजन्य पदार्थ रोडा, गिट्टी, बालुवाको मौज्जाद, सङ्कलन प्रक्रियासहित आवश्यक कागजात जिल्ला समन्वय समितिमा पेश गर्न स्थानीय तह निजगढ नगरपालिकालाई जानकारी दिइसकेको र सो सम्बन्धमा अर्को निर्णय नहुन्जेलसम्मका लागि क्रसर उद्योगहरू बन्द गर्न निर्देशन दिएको बताए ।

यसअघि वनक्षेत्र, आरक्ष, निकुञ्जदेखि २ किलोमिटरभित्र पर्ने, स्थानीय सुरक्षा निकाय, शैक्षिक संस्थादेखि १ किलोमिटरभित्र रहेका क्रसरलाई तीन वर्षभित्र बन्द वा स्थानान्तरण गर्नुपर्ने २०६७ चैत ६ गते सर्वोच्च अदालतद्वारा गठित अनुमगन समितिले मापदण्ड निर्धारण गरेको थियो । तर, म्याद सकिए करिब ३ वर्ष म्याद थप्दै क्रसर उद्योग चल्दै आइरहेको र पछिल्लोपटक म्याद थप नभए पनि क्रसर उद्योग निर्वाधरुपमा चल्दै आइरहेको छ ।