४ साउन ०७७, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले बैकल्पिक प्रणालीको माध्यमबाट भइरहेका कक्षाहरु साउन १ गतेदेखि स्थगन गरेपछि मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयका सहसचिव एवम् प्रवक्ता दीपक शर्माले आइतबार प्रेस विज्ञप्ति जारी गरी निजी लगानीका विद्यालयहरुले बैकल्पिक प्रणालीको माध्यमबाट भइरहेका कक्षाहरु स्थगन गरेपछि मन्त्रालयको ध्यानाकर्षण भएको जनाएका हुन् ।
‘निजी लगानीका विद्यालयहरुले सञ्चालन गरिरहेका सिकाइ सहजीकरण कार्यक्रम अन्तर्गतको अनलाइन सिकाइ कार्यक्रम स्थगित गरिएको र यसबारे जनमानसमा उत्पन्न भएको चासोका विषयमा यस मन्त्रालयको ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा उल्लेख छ ।
प्याब्सन तथा नेपाल प्याब्सनले बैकल्पिक प्रणालीको माध्यमबाट भइरहेका कक्षाहरु स्थगन गर्ने निर्णय गरेसँगै निजी विद्यालयहरुले सबैप्रकारका कक्षाहरु साउन १ गतेदेखि स्थगन गरेपछि शिक्षा मन्त्रालयले निजी लगानीका विद्यालयहरूले स्थगन गरेका सिकाई सहजीकरण कार्यलाई निरन्तरता दिन अनुरोध गरेको छ ।
‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका, २०७७ बमोजिम यस मन्त्रालय मातहतका निकायबाट गत असार एक गतेदेखि सञ्चालनमा रहेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरणका कार्यक्रमहरु निरन्तर जारी रहेका छन्,’ विज्ञप्तिमा उल्लेख छ, ‘वर्तमान विषम परिस्थितिमा निजी लगानीका विद्यालयहरुले स्थगन गरेका सिकाइ सहजीकरण कार्यहरुलाई निरन्तरता दिन मन्त्रालय सम्बद्ध सबैमा अनुरोध गर्दछ ।’
‘भरखरै सार्वजनिक भएको आर्थिक वर्ष २०७७/०७८ मौद्रिक नीतिमा शिक्षा लगायतका व्यवसायले लिएको ऋणको साँवा र व्याज बन्दाबन्दीको अवधिमा भुक्तानी गर्न कठिनाई भएको अवस्थालाई दृष्टिगत गरी कर्जा भुक्तानीको म्याद थप र कर्जाको पुनरसंरचना तथा पुनर्तालिकीकरण गर्ने व्यवस्था गरिएको विषय पनि यस सन्दर्भमा स्मरणीय छ’ विज्ञप्तिमा भनिएको छ ।
यस्तै मन्त्रालयले असार १ गतेदेखि कार्यान्वयनमा ल्याएको सिकाई सहजीकरण कार्यक्रम कार्यान्वयनमा कुनै व्यवहारिक समस्याहरु भए शिक्षण संस्थाले सम्बन्धित स्थानीय तहसग परामर्श गरी निर्देशन अनुसार गर्न सक्ने विषय मन्त्रालयबाट यसअघि नै प्रष्ट पारिसकिएको समेत विज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रेस विज्ञप्ति