२ साउन ०७७, काठमाडौं । संस्थागत विद्यालय शिक्षक युनियनले निजी विद्यालयमा रहेको व्यापारीकरण अन्त्य गरेर विद्यालयलाई सेवामुलक बनाउनु पर्ने बताएको छ ।
प्याब्सन तथा नेपाल प्याब्सनले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गरेर साउन १ गते बिहीबारदेखि अनलाइन कक्षा बन्द गर्ने र शिक्षकहरुलाई सोही मितिदेखि बेतलबी घर बिदा दिने निर्णय गरेसँगै युनियनले यस्तो बताएको हो ।
“शिक्षा स्वास्थ्य नागरिकका हक भएकाले निजी विद्यालयमा रहेको चरम व्यापारीकरणलाई अन्त्य गरी विद्यालयलाई सेवामुलक बनाउनु युनियन जोडदार माग गर्दछ,” बिहीबार जारी युनियनको विज्ञप्तिमा उल्लेख छ, “आगामी ३ दिनभित्र यस सम्बन्धमा ठोस कदम नचाले संघर्षको कार्यक्रम घोषणा गर्न बाध्य हुने सरोकारवालाहरुमा अवगत गराउँछौं ।”
शिक्षक युनियनका अध्यक्ष होमकुमार थापा र महासचिव भोलानाथ चालिसेद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्याब्सन तथा नेपाल प्याब्सनको निर्णय उसैलाई समेत आत्मघाती हुने भन्दै युनियनले बालबालिकाको पढ्न पाउने अधिकारमाथि कुठाराघात नगर्न र देशभरका २ लाख बढी शिक्षक कर्मचारीको पेटमा लात नहान्न आग्रहसहित बन्दाबन्दीको बाहनाबाजीमा रोजीरोटी खोस्ने कार्य गैरकानुनी, अमानवीय भन्दै भत्र्सना समेत गरेको छ ।
शिक्षक तथा कर्मचारीहरुले अघिल्लो शैक्षिक सत्रको पुस–माघदेखिकै तलब नपाएको भन्दै युनियनले प्याब्सन तथा नेपाल प्याब्सनको निर्णय नेपालको संविधान, शिक्षा तथा श्रम ऐन नियमावली विपरीत रहेको समेत बताएको छ ।