निरन्तरको वर्षाले नरैनापुरमा २ सय घर पूर्णक्षति, हजारौँ प्रभावित

२१ असोज ०७९, बाँके। मंगलबारदेखि लगातार भैरहेको वर्षाका कारण बाँकेको नरैनापुर गाउँपालिकाको ६ वटै वडा जलमग्न भएको छ ।

नरैनापुर गाँउपालिकामा दुई सय घर पूर्णरुपमा क्षति भएको छ भने हजारौं स्थानीय बासिन्दा प्रत्यक्ष रुपमा प्रभावित भएको छ ।

गाउँपालिकाको विपद् शाखाले दिएको जानकारीअनुसार लगातारको वर्षाले गर्दा नरैनापुरको वडा १, २, ३, ४, ५ र ६ का अधिकांश गाउँमा पहाडको पानी पस्दा भएको डुबानले करिब ६ हजार स्थानीय प्रभावित भएको छ ।

पालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले भने, “पालिकाका ६ वटै वडाका अधिकांश गाउँ जलमग्न भई धेरैको घरमा बुधबारदेखि नै खाना पाक्न नसकेको सूचना पाएका छौं ।”

बाढी र डुबान पीडितका लागि तत्काल खाद्य बस्तुको आवश्यकता परेकाले आवश्यक खाने सामग्री उपलब्ध गराउन जिल्ला विपद व्यवस्थापन समितिलाई निर्देशन दिएको पालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताए ।

उनले भने, “राप्ती नदीको पानीले भन्दा नरैनापुरको नजिकै रहेको पहाडको पानीले नरैनापुरवासीलाई प्रभावित गरेको छ ।”

संघीय र प्रदेश सरकारले जनतालाई राहत दिन नसकेको भन्दै स्थानीय आक्रोशित देखिएको पालिका अध्यक्ष शाहले बताए । उनले बाढीपीडितहरुलाई भोकमरी हुनबाट बचाउन सरकोकारवालासँग समेत अपिल गरेका छन् ।

गाउँपालिकाको वडा १ बनिया गाउँ, २ को रोशनपुरवा, महतिनिया, ३ को बहावपुरवा, गिगली, रतैया, कोटिया, कोदीपुर र पचपेडवा, वडा ४ को नरैनापुर, घोडदौरिया, पंडितपुरवा वडा ५ को जमुनहा, ६ को दोँदरा, २४ विगहा लगायतका गाउँका अधिकांश घरमा पानी पसे पछि जनजीवन अस्तव्यस्त बनेको गाउँपालिकाले जनाएको छ ।