१२ कार्तिक ०७९, धनगढी । निर्वाचन आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधरले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, र निष्पक्षरुपमा सम्पन्न गराउन आयोगको नेतृत्व र हामी सबैको दायित्व रहने बताएकी छन् ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन, २०७९ का सन्दर्भमा आज निर्वाचन आयोग र राष्ट्रिय समाचार समितिको सहकार्यमा धनगढीमा आयोजित सुदूरपश्चिमस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रममको उद्घाटन गर्दै आयुक्त तुलाधरले यस्तो बताएकी हुन् ।
संविधान र कानूनले दिएको अधिकार र कार्यक्षेत्रबमोजिम आयोगले निर्वाचनको समग्र व्यवस्थापन र तयारी गरिरहेको उल्लेख गर्दै उनले यसक्रममा सञ्चारमाध्यमसँगको सहकार्य र समन्वयलाई पनि उत्तिकै महत्व दिइएको बताइन् ।
उनले निर्वाचनलाई सफल बनाउने कार्य आयोग एक्लो प्रयासबाट सम्भव नहुने भएकाले निर्वाचनका विभिन्न चरण र प्रक्रियाहरूमा भएका सही सूचनालाई प्रवाह गरेर आयोग र मतदाताबीच सेतुको कार्य गर्न पत्रकारहरुलाई आग्रह समेत गरीन् ।
‘निर्वाचनका क्रममा सही सूचनाको संवाहक सञ्चारकर्मीहरू नै हुन् । सञ्चारकर्मीका सही सूचना हाम्रा लागि कोसेढुंगा हुनेछ ।’ आयुक्त डा. तुलाधरले भनिन्, ‘आम मतदाताले दिने हरेक मत बदर नहोस् भन्नेमा आयोग सचेत रहेको छ । त्यसका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ । त्यस अर्थमा आयोग र सञ्चारको सम्बन्ध नङ र मासुजस्तै रहेकामा हामी स्पष्ट रहेका छौँ ।’