निर्वाचनमा घात अन्तर्घात गर्नेहरुलाई पार्टी निश्कासन गर्ने प्रचण्डको उद्घोष

१३ भदौ ०७९, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा गम्भीर प्रकृतिको घात अन्तर्घात गर्नेहरुलाई कारबाही गर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा पार्टीको उपत्यका विशेष प्रदेश समितिद्वारा आयोजित बैचारिक-राजनीतिक प्रशिक्षण तथा निर्वाचन सम्बन्धि कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ५० भन्दा बढी पालिका विजयी बन्ने जनमत हुँदाहुँदै पनि गुमाउनु परेको भन्दै उनले पार्टी भित्रको घात अन्तर्घात गर्नेहरुलाई कारबाही हुने बताए ।

“हामी गत निर्वाचनमा जितेका ५० भन्दा बढी पालिका यसपटक गुमाएछौं । हामीले जितेको यतिधेरै पालिका गुम्छ भन्ने सोचेका थिएनौं किनभने जनमत हाम्रो पक्षमा थियो र अहिले पनि हाम्रै पक्षमा छ,” उनले भने, “अहिले हामी गम्भीर समीक्षामा छौं, जनमतको सही व्यवस्थापन भएको भए, पार्टीभित्रै घात अन्तरघात नभएको भए हामी दोस्रो ठूलो पार्टी बन्थ्यौं । अस्तिमात्रै छानबिन समितिले पार्टी हेडक्वाटरमा प्रतिवेदन बुझाएको छ । जहाँनेर गम्भीर घात भएको छ, गम्भीर अपराध गर्नेहरुलाई आलोचना गर्ने, चेतावनी दिने, निलम्बन गर्ने, निश्कासन गर्ने र भण्डाफोर गर्नेसम्मका सुझाव छन् । हामी त्यसै गछौं र तपाईं सबै कमरेडले यसलाई समर्थन गर्नुपर्दछ ।”

प्रशिक्षण सम्बोधनको सुरुमै आफू प्रतिनिधि सभाको बैठकबाट सिधै यस कार्यक्रममा आएको भन्दै अध्यक्ष प्रचण्डले भने, “सत्यनिरूपण तथा मेलमिलाप आयोगको कार्य अघि बढेको छ । सत्यनिरूपण सम्बन्धी गठबन्धन र त्यसका सबै पक्षमा सहमत भएर अघि बढेको छ । शान्ति प्रक्रिया नटुङियोस् भन्ने पक्ष पनि देखिएका छन् । हिजो गणतन्त्र सम्भव नै छैन भन्नेहरू अहिले पनि शान्ति प्रक्रिया टुंगोमा पुर्याउनु हुन्न भनेर चलखेल गरिरहेका छन् ।”

संबिधानको रक्षा र परिवर्तनका एजेन्डाहरुको आधारमा अहिलेको गठबन्धन बनेको भन्दै उनले प्रतिगमन परास्त नभएसम्म र नसुध्रिएसम्म गठबन्धनको विकल्प नखोजिने पनि बताए ।

बैचारिक-राजनीतिक प्रशिक्षण तथा निर्वाचन सम्बन्धि कार्यक्रमका केही तस्बिर