१५ बैशाख ०७४, कास्की । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले आसन्न स्थानीय तहको निर्वाचनमा माओवादीले हारे स्थानीय तह विघटन हुने बताएका छन् ।
शुक्रबार पोखरामा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता गुरुङले यो निर्वाचनमा कांग्रेस-एमालेले चुनाव जिते सिंहदरबारको अधिकार गाउँमा लिएर आएको स्थानीय तह विघटन हुने खतरा रहेको बताएका हुन् ।
‘गणतन्त्र, संघीयता र स्थानीय तह ल्याउने माओवादी हो, जसको नीति उसकै नेतृत्व भयो भने मात्रै त्यसको कार्यान्वयन सही ढंगबाट हुन्छ’ गुरुङले भने, ‘यदि अहिले हुन गइरहेको निर्वाचन कांग्रेस-एमालेले जित्यो भने स्थानीय तह उनीहरुको लागि बाँदरको हातमा नरिवल जस्तो हुन्छ र त्यतिबेला यो विघटन हुनेवाला छ ।’
उनले विभिन्न शक्ति केन्द्रले हुन लागेको सहमति भाँडेर नेपाललाई अफगानिस्तान बनाउने षडयन्त्र गरिरहेको आरोप समेत लगाए ।
गुरुङले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्यो भने पोखरा अन्तर्राष्ट्रिय केन्द्र बन्ने र काठमाडौंको हालिमुहाली सकिने डरले यसको निर्माणमा बाधा पुर्याइरहेको बताए ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै ऊर्जामन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले स्थानीय तहको निर्वाचनमा सही मान्छे नचुन्दा नाम बदलिए पनि शासन नबदलिने बताए ।
‘विगतमा राणा शासन आयो, त्यो फालेर प्रजातन्त्र आयो, त्यो मासिएर पञ्चायत आयो, अनि आन्दोलनमार्फत फेरि बहुदलीय प्रजातन्त्र आयो । हो, नाम बदलियो तर शासन बदलिएन’ प्रभाकरले भने, ‘तर अब शासन पनि बदलिँदैछ त्यो माओवादीको कारण हो ।’
उनले माओवादीले ल्याएको उपलब्धि कार्यान्वयन गर्न उसैलाई चुनावमा जिताउनु पर्नेमा जोड दिए ।