२५ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले सरकारले निर्वाचनसम्बन्धी कानुन ल्याएमा संसद्को अवरोध हटाउन सक्ने बताएको छ ।
संविधान संशोधन विधेयकको विरोध गर्दै आएको भए पनि एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले संविधानको कार्यान्वयन, निर्वाचन र मुलुकलाई समाधान दिने सन्दर्भमा आफ्नो दल बाधक नहुने बताएका छन् ।
‘एमालेको अवरोधले निर्वाचनका कानुन अघि बढ्न नसकेको भन्ने सरकारको आरोप हो भने गृहमन्त्रीको टेबलमा रहेका विधेयक संसदमा ल्याओस्’ ढकालले भने, ‘त्यसपछि निकास दिन हामी तयार छौं ।’
प्रदेशको सिमाना हेरफेरसहित संविधान संशोधनसम्बन्धी विधेयक दर्ता गराएपछि एमालेको अगुवाइमा विपक्षी दलहरूले संसद अवरुद्ध पार्दै आएका छन् ।विपक्षीको अवरोधका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तविरुद्धको महाभियोग प्रस्ताव छलफल अघि बढ्न सकेको छैन ।