निर्वाचन आयोगद्वारा प्रदेश र प्रतिनिधि सभा निर्वाचनका कार्यक्रम सार्वजनिक

२७ भदौ ०७४, काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचनको कार्यक्रम सोमबार सार्वजनिक गरेको छ ।

प्रत्यक्ष तर्फ पहिलो चरणको निर्वाचनका लागि कात्तिक ५ देखि ८ गतेसम्म र दोस्रो चरणको निर्वाचनका लागि कात्तिक १६ गतेदेखि १९ गतेसम्मको निर्वाचन कार्यक्रम ल्याइएको छ ।

समानुपातिक निर्वाचन प्रणालीका लागि भने असोज २९ गते उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने तोकिएको छ ।

आयोगले हिमाली र उच्च पहाडी ३२ जिल्लामा पहिलो चरणमा तथा पहाडी र तराईका ४५ जिल्लामा दोस्रो चरणमा निर्वाचन गर्ने निर्णय गरिसकेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले समय कम रहेकाले निर्वाचनको तयारीलाई तिब्र गतिमा बढाइएको बताए ।

आयोगले भदौ २५ गतेदेखिबाटै समानुपातिक तर्फको निर्वाचन कार्यक्रम सुरु भइसकेको जनाएको छ । समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरुका लागि भदौ २५ देखि २७ गतेसमम निवेदन पेस गर्नुपर्ने अनिवार्य गरिएको छ । उक्त अवधिमा निवेदन नदिएका दलले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन नपाउने आयोगले जनाएको छ ।

राजनीतिक दलहरुले प्रतिनिधिसभा र प्रदेशसभाका लागि अलग अलग समानुपातिक तर्फको बन्दसूची पेस गर्नुपर्ने हुन्छ । बन्दसूचीमा नाम परेकाले प्रत्यक्ष तर्फबाट उम्मेदवारी दिन नपाउने कानूनी प्रावधान छ । उम्मेदवारको बन्दसूचीको अन्तिम प्रकाशन मसिंर ३ गते गरिने आयोगको कार्यसूचीमा छ ।

प्रत्यक्ष तर्फ पहिलो चरणको निर्वाचनका लागि कात्तिक ५ गते उम्मेदारको मनोनयन दर्ता, सोही दिन साँझ दर्ता सूची प्रकाशन, ६ गते उम्मेदवारको बिरोधमा उजुरी दिने, ७ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय, सोही दिन उम्मेदवारीको नामावली प्रकाशन, ८ गते उम्मेदवारको नाम फिर्ता लिने, सोही दिन अन्तिम नामावली प्रकाशन र निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका छ । पहिलो चरणको चुनावी कार्यक्रम तिहार र छठ पर्वको समयमा परेको छ । यसवर्ष कात्तिक २ गते लक्ष्मीपूजा र ९ गते छठ पर्व छ ।

त्यस्तै, मसिंर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि कात्तिक १६ गते मनोनयन दर्ता, सोही दिन दर्ता सूची प्रकाशन, १७ गते उम्मेदवारको बिरोधमा उजुरी दिने, १८ गते उजुरी उपर जाँचबुझ र नामावली प्रकाशन, १९ गते उम्मेदवारी फिर्ता लिने, सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिन्द प्रदान गर्ने कार्यतालिका छ ।

दुई वटैसभाको निर्वाचन सँगसँगै तर दुई चरणमा मसिंर १० र २१ गरिने यसअघि नै घोषणा भइसकेको छ ।

तपाइको मत