निर्वाचन कार्यालयबाट फरक-फरक मत परिणाम सार्वजनिक, दलका प्रतिनिधिहरुद्वारा आपत्ति

सप्तरीमा स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी

सप्तरी समाचारदाता
७ असोज ०७४, सप्तरी । स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । पछिल्लो पटक शनिबार साँझ जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाको नतिजा सार्वजनिक भएको छ ।

घोषित परिणाम अनुसार जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकामा राजपाका मेयर उम्मेदवार शैलेश कुमार साह ५७२० र उपमेयर उम्मेदवार सरिता यादव ५४१७ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका मेयर उम्मेदवार विरेन्द्र माझीले ४३६५ मत पाएको छ भने संघीय समाजवादी फोरम नेपालका उपमेयर उम्मेदवार शियावती यादव ४१९९ मत ल्याएर पराजित भएको छ ।

पछिल्लो मत परिणाम अनुसार सप्तरीमा नेपाली कांग्रेस, संघीय समाजवादी फोरम र राजपाले ४/४ स्थानमा जित हाँसिल गरेका छन् ।

यस्तै एमाले र नयाँ शक्तिले १/१ स्थानमा जित हात पारेका छन् ।

जिल्लाको सुरुङ्गा नगरपालिकामा कांग्रेसका मेयर उम्मेदवार मुक्तिनाथ चौधरी ५२७९ र उपमेयर उम्मेदवार मिना चौधरी ५०३६ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

बोदेवरसाईन नगरपालिकामा संघीय समाजवादी फोरम नेपालका मेयर उम्मेदवार आतेसकुमार सिंह यादव ४५४७ मत र रञ्जुकुमारी साहले उपमेयर पदमा ३७२१ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

बलान बिहुल गाउँपालिकाको अध्यक्ष पदमा संघीय समाजवादी फोरमका दयानन्द गोइत र उपाध्यक्षमा १८०२ मत ल्याई रुवी गुप्ता निर्वाचित भएकी छिन् ।

महदेवा गाउँपालिकाको अध्यक्षमा पनि संघीय समाजवादी फोरमकै दिपक यादव ३०९१ मत र उपाध्यक्षमा ममता यादवले २७४९ ल्याएर विजयी भएका छन् ।

छिन्नमस्ता गाउँपालिकामा नयाँ शक्ति पार्टीका अध्यक्षका उम्मेदवार सूर्य नारायण मण्डलले २८०५ मत तथा उपाध्यक्ष पदमा राजपाकी उषा मण्डल १७१० मत प्राप्त गरी विजयी भएका छन् ।

तिलाठी कोइलाडी गाउँपालिकामा राजपाका अध्यक्ष पदका उम्मेदवार सतिश सिंह २९८७ र उपाध्यक्षमा सुचिता यादव २८८६ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

हालसम्म जिल्लाको १४ स्थानीय तहको अन्तिम परिणाम घोषणा भइसकेको छ ।

घोषित परिणाम मध्ये कांग्रेसले बेल्ही चपेना, विष्णुपुर, अग्निसाईर कृष्णा सवरन गाउँपालिका र सुरुङ्गा नगरपालिका गरी ४ स्थानीय तहमा जितेको छ

यसैगरी राजपाले हनुमाननगर कंकालिनी, डाकनेश्वरी नगरपालिका, कोइलाडी तिलाठी गाउँपालिका र रुपनी गाउँपालिका गरी ४ स्थानीय तहमा जितेको छ ।

संघीय समाजवादी फोरम नेपालले तिरहुत, महदेवा, वलानविहुल गाउँपालिका र वोदेवरसाईन नगरपालिका गरी ४ स्थानमा जित हात पारेको छ ।

एमालेले सप्तकोशी नगरपालिका र नयाँशक्तिले छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष पद जितेको छ ।

उम्मेदवारको मृत्यु भएका कारण स्थगित भएको राजविराज नगरपालिका वडा नं. १५ मा बिहीबार मतदान सकिएपछि राती १२ बजेदेखिनै मतगणना सुरु भएको थियो ।

यद्यपि सूरुमा घोषण गरिएको मतगणना परिणाम र पछि सार्वजनिक गरिएको मतपरिणाम नमिलेपछि दलका प्रतिनिधिहरुले विवाद सुरु गरेपछि मतगणना स्थगित भएको जनाइएको छ ।

निर्वाचन कार्यालयबाट फरक-फरक परिणाम सार्वजनिक, दलका प्रतिनिधिहरुद्वारा आपत्ति

करिब १६ सय मत गणना भइसकेपछि निर्वाचन कार्यालयबाट फरक फरक परिणाम सार्वजनिक गरिएको भन्दै दलका प्रतिनिधिहरुले आपत्ति जनाएपछि मतगणना कार्य रोकिएको बताइएको छ ।

दलहरुका तर्फबाट पुनः मतगणनाका लागि माग भएको र सो माग अनुसार गराउन नसक्ने जनाउँदै मुख्य निर्वाचन अधिकृत शारदा प्रसाद कोइरालाले सोही ब्यहोराको जानकारी निर्वाचन आयोगलाई गराइएको प्रतिक्रिया दिएका छन् ।

पुनः मतगणनाका लागि निर्वाचन आयोगबाटै अर्को टोली खटाइने तयारी गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

तपाइको मत