१५ असोज ०८०, पोखरा । नेकपा एमालेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लोकप्रियतावादमा टेकेर राष्ट्रिय स्वतन्त्रता पार्टीले युवाहरुमा भ्रम छरिरहेको आरोप लगाएका छन् ।
नेकपा एमालेको प्रथम गण्डकी अधिवेशनमा बोल्दै उनले लोकप्रियतावादले देशको विकास हुन नसक्ने भन्दै यस्तो बताएका हुन् ।
‘अहिले धेरै राजनीतिमा भ्रम सिर्जना भइराखेका छन् । हाम्रा बाबुनानीहरु फेसबुक हेर्छन्, टिकटक हेर्छन् र भ्रममा पर्छन्,’ गुरुङले भने, ‘राजनीतिमा एउटा कुनचाहिँ चटकेवालहरु चलिराखेका छन्, जसको मुलुकप्रति कुनै दर्शन छैन, कुनै योजना छैन, कुनै भिजन छैन, कुनै नीति छैन ।’
नीतिबिनाको पार्टीले देशको विकास गर्न नसक्ने र त्यो केवल चटक मात्रै हुने गुरुङले बताए ।
‘दुनियाँमा यस्ता रमिते र चटकेहरु धेरै देखेका छौं । त्यस्ता चटकेहरु हामीले भारतमै देखेका छौं, अमेरिकामा देखेका छौं, रुसमा देखेका छौं, अस्ट्रेलियामा देखेका छौं’, उनले भने, ‘तर, लोकप्रियतावादले भिजनबिनाको, नीतिबिनाको, योजनाबिनाको पार्टीले मुलुकलाई अगाडि हाँक्न सक्दैन ।’