नेकपाका अध्यक्ष प्रचण्डद्वारा २५६४औँ बुद्ध जयन्ती र उभौली पर्वका अवसरमा शुभकामना व्यक्त

२५ बैशाख ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६४औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका विश्वभरका बौद्धमार्गीहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

बिहीबार एक शुभकामना सन्देश जारी गरेर अध्यक्ष प्रचण्डले बुद्ध जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली जनसमुदाय तथा बौद्धमार्गीहरुमा हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

“नेपालको भूमिमा जन्मेर मानव कल्याणका साथै विश्व शान्तिका लागि ठूलो योगदान दिनु भएका गौतम बुद्धका उपदेशहरु विश्व मै लोकप्रिय छन्” शुभकामनामा भनिएको छ, “बुद्धले विश्व मानवजातिका लागि सही ज्ञान हासिल गर्न भौतिकवादी ढंगले सत्यको तथ्यगत अन्वेषण गर्ने सूत्रहरु पहिल्याउनु भएकाले उहाँप्रति हामी सबै नेपालीले गर्व गर्न सक्छौं ।”

शुभकामनामा सामाजिक सांस्कृतिक ऐक्यवद्धता, सद्भाव र सहिष्णुता नै नेपाली समाजको विशेषता रहेको र यही विशेषताले नै अहिले संसारभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्ने ताकत र उर्जा पैदा हुन साथै महामारीको विषम परिस्थितिसँग जुझ्न मद्दत मिल्ने विश्वास व्यक्त गरिएको छ ।

त्यसैगरी आज नै परेको किराँत (राई, लिम्बू, सुनुवार र याक्खा) समुदायको उभौली पर्वको उपलक्ष्यमा समेत सम्पूर्ण किराँत समुदायमा सुख, शान्ति, समृद्धि र आपसी भाइचाराको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

शुभकामना :