सोमबहादुर थापा/१३ साउन ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ ।
पार्टीमा देखिएको आन्तरिक विवादका कारण गत असार १० मा सुरु भई पटकपटक स्थगित भएको स्थायी कमिटी बैठक आज बस्ने भएको हो ।
यसैबीचमा आन्तरिक विवाद हल गर्न अध्यक्षद्वय प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पटकपटक छलफल भएपनि सहमति जुटिसकेको छैन् ।
नेकपाका केही नेताहरू पछिल्लो समय केन्द्रीय समिति बैठकको माग गर्दै हस्ताक्षर संकलनमा समेत जुटेका छन् ।
‘पूर्वमाओवादी र पूर्व एमालेबीच पार्टी एकता भएदेखियता चुलिएको आन्तरिक विवादलाई सचिवालय र स्थायी कमिटीले हल गर्न सकेन,’ नेकपाका एक केन्द्रीय सदस्यले भने, ‘सबै समस्याको हल केन्द्रीय समिति बैठकले दिने हुँदा बैठकको माग गर्दै हस्ताक्षर संकलन गरेका हौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अन्तरिम विधानमा कुल केन्द्रीय सदस्यमध्ये २५ प्रतिशत सदस्यले बैठक माग गर्न सक्ने व्यवस्था रहेको छ ।