नेकपाले स्थानीय सरकार सञ्चालन गर्न संयन्त्र बनाउने

५ पुस ०७६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रमा उपाध्यक्ष रहने तर अन्य कमिटीहरू भने नरहने भएको छ ।

नेकपाको स्थायी कमिटी बैठकमा सहभागीहरूले केन्द्रमा उपाध्यक्ष रहने हो भने अरु कमिटीमा पनि राख्नुपर्ने माग उठाएका थिए ।

नेताहरुले उठाएका प्रश्नहरूको शनिबार जवाफ दिँदै अध्यक्ष प्रचण्डले उपाध्यक्ष केन्द्रमा मात्रै रहने बताएको एक स्थायी समिति सदस्यले जानकारी दिए ।

ती नेताकाअनुसार बैठकमा ९ सदस्यीय सचिवालय विस्तारको माग उठेको भए पनि अध्यक्षले ती मागलाई अस्वीकार गरेका छन् ।

बिहीबारबाट जारी स्थायी कमिटी बैठकको जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन परिमार्जन गर्ने प्रतिवद्धता जनाएका छन् । साथै, स्थानीय तहको सरकार सञ्चालनका लागि संयन्त्र बनाउने बताए ।

यसैगरी मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो दिन नै सूचना दिएको भन्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको नियत कसैलाई अपमान गर्ने नभएको बताएका थिए ।