६ जेठ, काठमाडौं । ०६९ असार ५ गते एमाओवादीसँग सम्वन्ध विच्छेद गरेका रामबहादुर थापा ‘बादल’सहित मातृका यादव, मणि थापा, विप्लवसँग हिँडेका तिलक परियार, स्वतन्त्र माओवादी जयपुरी घर्ती लगायत माओवादी नेताहरुले माओवादी पार्टी एक भएको घोषणा गरेका छन् ।
प्रचण्डसँग सम्वन्ध विच्छेद गरेर हिँडेका बादल, थापा, यादवसहित, नारायण शर्मा, देव गुरुङ, हितमान शाक्य लगायत नेताहरु १० वर्षे जनयुद्धमा सँगै थिए । पुराना अनुहार एक भएर शहीद तथा बेपत्ता परिवारको आँशु पुछ्ने अठोट गरेसँगै कार्यकर्तामा खुसियाली छाएको छ ।
पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मोहन वैद्य ‘किरण’ र डा. बाबुराम भट्टराईलाई एकतामा आउन अपिल गरेका छन् । किरण र आफूसँगै रहेर हजारौं जनताको बलिदान हुनेगरी युद्ध चलाएको स्मरण गर्दै प्रचण्डले माओवादीलाई निचोडमा पुर्याउन एक हुन जरुरी रहेको बताए ।