२७ भदौ ०७५, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि मौलिक रहेको बताएका छन् ।
मंगलबार गृहमन्त्रालयमा अफगानिस्तानका उच्च शान्ति परिषद्का प्रतिनिधिमण्डलसँग भएको भेटमा गृहमन्त्री थापाले सो कुरा बताएका हुन् ।
भेटवार्तामा गृहमन्त्री थापाले शान्ति प्रक्रियापछि संविधानसभाबाट बनेको नेपालको संविधानले हरेक क्षेत्र, जाति, लिङ्ग, समुदायको समावेशी, समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरेको बताए ।
भेटमा गृहमन्त्री थापाले राजनीतिक परिवर्तनपछि अब नेपाल आर्थिक समृद्धि र विकासको यात्रामा अघि बढेको जानकारी दिए ।
त्यस्तै अफगानिस्तानको शान्ति प्रक्रिया नेपालका लागि पनि उदहरणीय रहेको भन्दै शान्तिप्रक्रियाको सफलताका लागि शुभेक्षा व्यक्त गर्दै भने– ‘हरेक युद्धका कारण हुन्छन, ति कारणको पहिचान गरेर त्यसलाई समाधानको उपाय निकाल्नुपर्छ । त्यसो भएमा मात्रै शान्ति कायम हुन्छ ।’
अफगानिस्तानका पूर्व मन्त्री एवम् शान्ति परिषद्का उपाध्यक्ष हबिबा सराबी नेतृत्वको प्रतिनिधिमण्डलले नेपालको सेना समायोजन प्रक्रिया, संविधान लेखन लगायतको प्रक्रियाबारे गृहमन्त्रीसँग चाँसो राख्दै नेपालको शािन्तप्रक्रियाबारे जानकारी लिन र सिक्ने उद्देश्यले आफूहरु नेपाल भ्रमणमा आएको जानकारी दिए ।














