४ असार ०७७, काठमाडौं । अद्यावधिक गरिएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्साले संवैधानिक मान्यता पाएको छ ।
सरकारले ल्याएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेसँगै नयाँ नक्साले संवैधानिक मान्यता पाएको हो ।
विधयेक प्रमाणीकरणसँगै नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र औपचारिक रुपमा समेटिएको छ ।
प्रतिनिधि सभाबाट ३१ जेठमा सर्वसम्मत पारित भएको विधेयकलाई राष्ट्रिय सभाले बिहीबार सर्वसम्मतिले पारित गरेको थियो । राष्ट्रियसभामा विधयेकको पक्षमा ५७ र विपक्षमा सुन्य मत परेको थियो भने राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधयेक पारित भएको घोषणा गरेका थिए ।
राष्ट्रिय सभाबाट पारित भई पुनः प्रतिनिधि सभामा गएको सो विधेयकलाई बिहीबार नै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाएका थिए ।
सरकारले जेठ ५ गते लिम्पियाधुरासहितका क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा मन्त्रिपरिषद्बाट पास गरेको थियो भने ७ गते नयाँ नक्सा सार्वजनिक गरेको थियो । त्यसको दुई दिनपछि जेठ ९ गते संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नयाँ नक्सा राख्न संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको थियो ।