२२ मंसिर ०७७, काठमाडौं । भारतले नेपाल आयात हुने आफ्ना उत्पादनहरुमाथि भन्सार विन्दुमै उच्च दरमा कर लगाएको भन्दै असन्तुष्टि जनाएको छ ।
सोमबार व्यापार, पारवहन र अनाधिकृत व्यापार नियन्त्रणका लागि बनेको सचिवस्तरीय संयन्त्रको बैठकमा भारतीय पक्षको नेतृत्व गरेका उद्योग तथा आन्तरिक व्यापार प्रवर्द्धन विभागका सचिव डा. गुरुप्रसाद मोहपात्रले यस्तो बताएका हुन् ।
‘नेपालबाट भारतमा निर्यात हुने ९९ प्रतिशत वस्तुमा भन्सार तथा कर सुहलियत दिइएको, तर नेपालले भारतबाट निर्यात हुने वस्तुमा उच्च कर लगाएको छ,’ उनले भने, ‘हामी भारतीय वस्तु पनि नेपालमा प्रतिस्पर्धी होस् भन्ने चाहन्छौं, तर उच्च दरको भन्सारसहितको करका कारण नेपालमा भारतीय उत्पादनलाई समस्या परेको छ ।’
मोहपात्रलाई उद्धृत गर्दै बैठकमा सहभागी एक अधिकारीका अनुसार नेपालले भारतीय उत्पादनमा लगाएको अहिलेको इफेक्टिभ कर घटाउन माग गरेको छ ।
यद्यपि, बैठकमा नेपाली अधिकारीहरुले भने त्यसको प्रतिवाद गरेका छन् । नेपाली टोलीको नेतृत्व गरेका वाणिज्य सचिव डा. बैकुण्ठ अर्यालले नेपाल र भारतका प्रधानमन्त्रीबीच भएको सहमति भारतीय सचिवलाई स्मरण गराएका थिए ।
अहिले नेपालले भारतबाट आउने वस्तुको मूल्यमा औसत २५ प्रतिशत भन्सारसहितको राजस्व उठाउने गरेको छ ।