२३ साउन ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भएको कोरोना संक्रमितको संख्या ७० पुगेको जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा मृत्यु हुने कोरोना संक्रमितको कूल संख्या ७० पुगेको जानकारी दिएका हुन् ।
प्रवक्ता गौतमले पर्सा जिल्ला बीरगंज महानगरपालिका ९ बस्ने वर्ष ४५ का एक पुरुष साउन २२ गते दिउँसो ३ः३० बजे पाटन अस्पतालमा निधन भएको बताए । उनले ती पुरुष मधुमेह र रक्तचापका बिरामी रहेको पनि बताए ।
यस्तै पर्सा जिल्ला बीरगंज महानगरपालिका ११ श्रीपुर बस्ने वर्ष ७९का एक पुरुषको साउन २० गते राती घरमै निधन भएको बताउँदै उनले नीजको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको जानकारी दिए ।
यसैगरी पर्सा जिल्लाको बीरगंज महानगरपालिका ११ श्रीपुर बस्ने वर्ष ५७ का एक पुरुषको गण्डक अस्थायी कोरोना अस्पतालमा निधन भएको उनले बताए । ती पुरुष मधुमेह, रक्तचाप र मुटुको रोगी रहेको र उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको बताए ।
यस्तै सिराहा जिल्ला गोलबजार नगरपालिका वडा नं. १२ बस्ने वर्ष २५ का एक पुरुषको साउन २२ गते राति १०ः४५ बजे विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निधन भएको उनले बताए । डायलाइसिस गरिरहेका ती पुरुष मृगौलाका बिरामी भएकाले थप उपचारका लागि जनकपुरमा धरान रिफर गरिएको थियो ।
यस्तै सर्लाही जिल्ला बसन्तपुर स्थायी घर भएका वर्ष ४५ का एक पुरुषको साउन २३ गते बिहान ८ः४१ बजे पाटन अस्पतालमा निधन भएको प्रवक्ता गौतमले जानकारी दिए ।