१४ भदौ ०७४, काठमाडौं । दुई नम्बर प्रदेशको स्थानीय तहको निर्वाचन अभियानका क्रममा जनकपुर आएका एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई राष्ट्रिय जनता पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले अवरोध गरेका छन् ।

प्रदेश नम्बर २ का बारा, पर्सा र रौतहट जिल्लामा चुनावी कार्यक्रम सिध्याएर जनकपुर युवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आएका नेपाललाई पिडारी चोकस्थित कार्यक्रमस्थल रहेको पार्टी प्यालेस जाने क्रममा राजपा कार्यकर्ताले अवरोध गरेका हुन् ।
झाडु, कुचो, चप्पल र कालो झन्डासहित विरोधमा उत्रेका राजपाका कार्यकर्ता एमालेको कार्यक्रम बिथोल्न अगाडि सरेपछि प्रहरी–प्रदर्शनकारीबीच पटकपटक झडप भएको थियो ।
झडपमा ४७ जना कार्यकर्ता घाइते भएको राजपाले जनाएको छ ।
दुनियाँकै सर्वोत्कृष्ट संविधानलाई जबरजस्ती अपमान गर्न पाइँदैन – नेपाल
बाहिर राजपा कार्यकर्ताले विरोध प्रदर्शन गरिरहँदा एमाले नेता नेपालले पिडारी चोकस्थित एक पार्टी प्यालेसभित्र कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमालेविरुद्ध मधेसमा भ्रम फैलाउने काम भएको बताएका थिए ।
‘दुनियाँकै सर्वोत्कृष्ट संविधानलाई जबरजस्ती अपमान गर्न पाइँदैन,’ नेपालले भने, ‘मधेसको विपक्षमा भएको भए सबैभन्दा बढी मधेसी एमाले, कांग्रेस र माओवादीमा छ, उनीहरुले संविधान मान्न नसकिने कहाँ भनेका छन् ?’
नेपालले मुलुकको हितविपरीत कुनै पनि संशोधन एमालेलाई मान्य हुने अडान दोहो¥याउँदै राजपालाई चुनाव जितेर संशोधनसम्बन्धी मुद्दाको सामना गर्न चुनौती दिए ।
शान्तिपूर्ण प्रदर्शनमा प्रहरीको लाठी प्रहार
राजपा अध्यक्ष महन्थ ठाकुरले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै सो घटनामा केन्द्रीय प्रवक्ता लालकिशोर साह, केन्द्रीय सदस्य तथा धनुष जिल्ला अध्यक्ष परमेश्वर साह घाइते भएको उल्लेख गरेका छन् । केन्द्रीय सदस्यहरु सरिता चौधरी, बिन्दू ठाकुर, विभा पाण्डे, अमर पंजियार, ज्ञानेन्द्र झा, रिता झासहित ४७ जना घाइते भएको विज्ञप्तिमा उल्लेख छ ।
राजपाले शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले लाठी प्रहार गरेको उल्लेख छ । एमाले कार्यकर्ताले समेत घरका छतबाट ढुंगा प्रहार गरी आफ्ना कार्यकर्ता घाइते बनाएको आरोप राजपाले लगाएको छ । यस्तो कारवाहीले निर्वाचनको माहोल बिथोलिन सक्ने भन्दै दमन रोक्न राजपाले सरकारसँग माग गरेको छ ।
संविधान संशोधनमा साथ नदिने पार्टीलाई मधेसमा भोट माग्न नदिने भन्दै राजपाले एमाले कार्यक्रम बिथोल्ने प्रयास गरेको थियो ।
राजपा नेपालको प्रेस विज्ञप्ति :
