काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा केन्यालाई ७ विकेटले हराउँदै नेपालले विश्वकप छनोट खेल्ने सम्भावना कायमै राखेको छ ।
शनिबार बर्षाका कारण प्रभावित खेलमा जित हात पारेको भए नेपालले केन्यालाई अंक तालिकामा पनि उछिन्न सक्ने थियो । पहिलो खेलमा हात पारेको जितका कारण केन्या सोमबारको हारपछि पनि अंक तालिकामा नेपाल भन्दा अगाडि नै छ ।
तर, सोमबार कीर्तिपुरमा नेपालको प्रदर्शनले अघिल्लो चरणको आश कायमै राख्न प्रेरित गरेको छ । केन्यालाई १५५ रनमा समेट्नु र यो लक्ष्य ३१ औं ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टाउनुले नेपाल एउटा शसक्त टोली हो भन्ने फेरि सावित गरेको छ ।
केन्याली टोलीका प्रशिक्षक र उपकप्तानले पनि नेपालले राम्रो खेलेको प्रतिक्रिया लिएका छन् । उसका उपकप्तानको शब्दमा भन्ने हो भने नेपाली बलरहरुका सामू केन्याको ब्याटिङ धरासायी भयो । १५५ रन बनाएर पनि उसले अझै जितको आश गरेको थियो ।
तर, केन्याली बलरहरुमाथि नेपाली ब्याट्सम्यान हावी भए । दिपेन्द्र सिंह ऐरी र ज्ञानेन्द्र मल्लको १११ रनको साझेदारीले नेपालको जितको आधार तयार पारेको थियो ।
खेल अवधिभर १२ औं खेलाडीका रुपमा नेपाली दर्शकहरु त नेपाली टोलीको साथमा रहे नै । केन्याली प्रशिक्षकका अनुसार उनीहरु कहाँ ५०० समर्थन पनि हुँदैनन् । तर, नेपालमा १० देखि १५ हजार समर्थक देखेपछि उनी पनि आश्चर्यमा परे ।