नेपाल–खनाल समूहका नेता पार्टी विवाद समाधानका लागि निर्वाचन आयोगमा !

५ बैशाख ०७८, काठमाडौं । नेकपा (एमाले) नेपाल–खनाल समूहका नेताहरु पार्टीको विवाद समाधानका लागि निर्वाचन आयोग गएका छन् ।

आइतबार नेपाल समूहका नेता बेदुराम भुसाल र राजेन्द्र पाण्डेसहितको टोली अपरान्ह आयोगमा पुगेर विवाद निरुपण गराउन भन्दै एक पत्र बुझाएका हुन् ।

फागुन २३ गते सर्वोच्च अदालतको निर्णयसँगै एमाले अध्यक्ष केपी ओलीले गरेका निर्णयहरु अवैध भएकाले ती निर्णय अभिलेखिकरण नगर्न उनीहरुले आयोग समक्ष माग गरेका छन् । अध्यक्ष ओलीले एकलौटी ढंगले निर्णय गरेकाले ती निर्णय पार्टी विधान विपरीत भएको उनीहरुको तर्क छ ।

यो समूहले महाधिवेशनबाट पारित विधान संशोधन गर्ने, निर्वाचित कमिटी भंग गर्ने, महाधिवेशन आयोजक कमिटी बनाउने र केन्द्रीय कमिटी विस्तार लगायत ओलीले गरेका निर्णय बदर गरिनुपर्ने नेपाल समूहको तर्क छ ।

आयोगका पदाधिकारीहरुले नेपाल समूहको उक्त पत्र बुझेर अध्ययन गरी जवाफ दिने जनाएका छन् ।