२६ असोज ०७६, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल–चीन सम्बन्ध राम्रो रहेको र यसलाई अझ सुदृढ गर्दै लैजानुपर्ने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्यहरूसँगको भेटवार्ताकाक्रममा राष्ट्रपति सीले यस्तो बताएका हुन् ।
बैठकमा सहभागी एक सदस्यकाअनुसार चिनियाँ राष्ट्रपति सीले दुई पार्टी (नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी) बीचको सम्बन्ध अझ सुमधुर बनाउनु पर्नेमा जोड दिएका छन् ।
स्रोतकाअनुसारे नेपालले हासिल गरेको राजनीतिक उपलब्धि र स्थायित्वका लागि बधाई दिँदै सील नेकपा अध्यक्ष प्रचण्डसहितका सचिवालय सदस्यहरुसँगको सामूहिक भेटवार्ताकाक्रममा चीन सधैं साथमा रहने बताएका छन् ।
यसैगरी सीले कम्युनिष्टहरूलाई अहिले धेरै प्रतिकुल अवस्था रहेपनि समाजवादको दिशामा अघि बढिरहेकाले पार्टीमा स्वच्छता र सुशासन कायम गर्न सकेमात्र पार्टी, सरकार र जनताबीच राम्रो सम्बन्ध बन्ने सुझाए ।
उनले नेपाल–चीन सम्बन्धमा प्रतिकुलताहरू पनि रहेकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए थिए ।
यसैगरी भेटवार्तामा सहभागी एक सचिवालय सदस्यकाअनुसार नेकपा अध्यक्ष प्रचण्डले चीनसँगको सम्बन्धलाई आफ्नो पार्टीले विशेष महत्व दिने र चिनियाँ राष्ट्रपतिको यो भ्रमणबाट दुई देशीय सम्बन्धले थप नयाँ उचाइ हासिल गर्ने बताएका थिए ।
उक्त भेटमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेल सहभागी थिए । भने, नेकपा महासचिव समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि सहभागी थिए ।













