१६ भदौ, काठमाडौं । बिहीबार आयोजना गरिने नेपाल-जापान दौत्य सम्बन्ध स्थापनाको ६०औं वार्षिकोत्सव समारोहमा सहभागी हुन नेपाल आएका जापानी विदेश राज्यमन्त्री नोबुओ किसीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री ‘प्रचण्ड’ प्रमुख अतिथि रहने नेपाल-जापान दौत्य सम्बन्ध स्थापनाको ६०औं वार्षिकोत्सव समारोह परराष्ट्र मन्त्रालयले बिहीबार हायात होटलमा आयोजना गर्दैछ ।
नेपाल र जापानबीच सेप्टेम्बर १ सन् १९५६ मा दौत्य सम्बन्ध स्थापित भएको थियो । नेपालले सोही वर्ष जापानमा दूतावास स्थापना गरेको थियो । जापानले भने सन् १९५८ मा नेपालमा दूतावास खोलेको छ ।
यही अवसरमा जापानले नेपाललाई एक अर्ब ८३ करोड २० लाख रुपयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ । जापानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत नेपालका प्रमुख आठवटा विमानस्थलको हवाई सुरक्षा सुधार परियोजनाका लागि एक अर्ब ५१ करोड ८० लाख रुपयाँ उपलब्ध गराउने छ । अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा दुई भिन्न परियोजना कार्यान्वयनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । हवाई सुरक्षा सुधार परियोजनासम्बन्धी समझदारीपत्रमा अर्थसचिव लोकदर्शन रेग्मी र जापानी राजदूत मासासी ओगावाले हस्ताक्षर गरे ।
सो अवसरमा विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयनका लागि जापानले ३१ करोड ३० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।